सुनसरी । सुनसरीको इटहरीमा आगामी चैत्रमा १४औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको हुने भएको छ ।

   अन्तराष्ट्रिय इटहरी गोल्डकपका विषयमा जानकारी गराउन आयोजक राष्ट्रिय जागृति क्लवले पत्रकार सम्मेलन गरि आगामी  चैत्र १० गते प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।

   रात्रिकालीन समयमा प्रतियोगिता सञ्चालन गरिने र भारतीय दुई टिम सहित १०  वटा टिमको सहभागिता हुने प्रतियोगिताका संयोजक अनुरोध थापाले जानकारी दिए । चैत्र १९ गते सम्म सञ्चालन हुने प्रतियोगिता इटहरी रङ्गशालामा हुने र  विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने समेत संयोजक थापाले वताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई  नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन ।vlcsnap-2024-03-05-18h12m00s661

इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चर्ज ब्वाईज युनाईटेड, मच्छिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत, बिर्तामोड युनाईटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने आयोजक  क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जाानकारी दिदै प्रतियोगिता सञ्चालनका लागि  ७५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको वताए ।

जसमा  इटहरी उपमहानगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषदले १० लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएको समेत क्लबका अध्यक्ष डुम्जनले जानकारी दिए । स्थानीय सहयोगी दाता र टिकट बिक्रीबाट २४ लाख सङ्कलन हुने अनुमान गरिएको छ  ।