इटहरी : इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ ।इटहरी उपमहानगर र कोसी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह चालू आर्थिक वर्षमा निर्माण गरिने भएको उपमहानगरले जनाएको छ ।

बिहीबार कोसी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको मुक्तिघाट किनारमा चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो ।

विपन्न तथा गरिबहरूलाई दाउरा किन्न महङ्गो पर्ने र शव जल्नका लागि समय धेरै लाग्ने भएकाले विद्युतीय दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर पौडेलले बताए । दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भएपनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा शव जलिसक्ने बताइएको छ ।

इटहरी उपमहानगरले घरदेखि घाटसम्म स्थानीय सरकार भन्ने नारालाई सफल बनाउन विद्युतीय शव दाह निर्माण भइसकेपछि कोशेढुंगा साबित हुने मेयर पौडेलको दाबी छ ।

करिब तीन करोड ५० लाखको लागतमा बन्ने विद्यतुीय दाहसंस्कार स्थलका लागि कोसी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको बताइएको छ ।

तत्काल विद्युतीय शवदाह निर्माण सुरु गर्नेगरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समितिसमेत गठन गरिएको छ ।