इटहरी । नेपाल भारत अन्तराष्ट्रिय सीमा क्षेत्र , स्तम्भ र नाकाहरुको पैदल यात्रा सहित अवलोकन गर्ने जिल्ला सुरक्षा समिति सुनसरीको कार्यक्रम अन्तरगत पैदल यात्रा जारी रहेको छ ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा सीमा क्षेत्रको स्थलगत अनुगमन जारी रहेको हो । जिल्ला सुरक्षा समिति सुनसरीले यही फागुन १२ गते देखि १६ गते सम्म पैदल यात्रा सहित अनुगमन कार्यक्रम तय गरे बमोजिम सुरक्षा निकायका प्रमुखहरु सहित पैदल यात्रा गरिदै आएको छ ।
जिल्लाको पुर्वी क्षेत्रको सीमावर्ती बर्जु गाउँपालिकाबाट सुरु गरिएको अन्तराष्ट्रिय सीमा क्षेत्र,स्तम्भ ,नाकाहरुको अनुगमन गर्दै अघि वढी रहेको हो ।
सो क्रममा सीमा क्षेत्रका जनप्रतिनिधिहरु तथा स्थानीयहरुसंग सीमा सुरक्षा , दैनिक जीवनयापनमा खुला सीमाका कारण हुने समस्याहरुका विषयमा अन्तरक्रिया र छलफल गर्ने गरिएको पैदल यात्रामा सहभागीहरु वताउछन ।
बर्जु गाउँपालिकाको सीमावर्ती क्षेत्रबाट सुरु भएको पैदल यात्रा र देवानगंज गाउपालिका ,हरिनगर गाउँपालिका , कोशी गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पुगेर समापन हुने जनाइएको छ । पैदल यात्राको उद्धेश्य सीमा स्तम्भको अवस्था , सीमावर्ती क्षेत्रका बासिन्दाको अवस्थाका विषयमा जानकारी हासिल गर्ने रहेको बुझिएको छ ।




















