इटहरी ।   परम्परागत तथा लोपोन्मुख बन्दै गई रहेका खाना परिकारहरुको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा जोड दिदै सुनसरीको इटहरीमा सञ्चालन भई रहेको दोस्रो इटहरी परम्परागत खाना महोत्सवको समयावधि थप गरिएको छ ।

  जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा इटहरी होटल तथा लज व्यवसायी समिति र इटहरी फुटवल संघको सहआयोजनामा यही फागुन १ गते देखि सञ्चालन हुदै आएको परम्परागत खाना महोत्सव सञ्चालन भई रहेको समयमा सरस्वती पुजा लगायतका कारण आउन नपाएका आगन्तुकहरुलाई लक्षित गरी पाँच दिन समय थप गरिएको जनाइएको हो  ।

  इटहरी उपमहानगरपालिका वडा नम्बर ४को आइतबारेमा सञ्चालन हुदै आएको  परम्परागत खाना महोत्सवमा विभिन्न कारणले आउन नपाएका आगन्तुकहरुलाई लक्षित गरी पाँच दिनको समय थप गरिएको महोत्सवका सल्लाहकार तथा होटल व्यवसायी महासंघका उपाध्यक्ष रविन गौतमले जानकारी गराए ।

परम्परागत खानाको संरक्षण प्रचारप्रसार , पर्यटन प्रवद्र्धन ,खाना संस्कृतिको विकाससंगै लोपोन्मुख बन्दै आइरहेका स्वास्थयवद्र्धक खानालाई प्रवद्र्धन गर्ने उद्धेश्यले यही फागुन १ गते देखि ११ गते सम्म सञ्चालन हुने भनिएको महोत्सवको समयावधि थप पाँच दिन वढाइएका कारण महोत्सव सहभागी हुन नपाएका आगन्तुकहरु आउने अपेक्षा गरिएको छ ।