इटहरी । सुनसरीको इटहरीबाट सञ्चालित प्रदेश खबर अनलाइनले पहिलो वार्षिकोत्सवको अवसर पारेर पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा महत्वपुर्ण योगदान पुर्याउने अग्रज तथा उदयमान पत्रकारहरुलाई सम्मान गरेको छ ।
नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव का अवसरमा आयोजना गरिएको कार्यक्रममा अग्रज तथा उदयमान पत्रकारहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी हुन ।
सम्मान कार्यक्रममा कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी साथै उदयमान पत्रकारहरुलाई सम्मान गरियो । यसरी सम्मानित हुनेहरुमा हर्ष सुब्बा , कृष्णविनोद लम्साल, भवानी बराल , शिबबहादुर कार्की , चन्द्र भण्डारी, कृष्ण आचार्य , कौशल चेम्जोङ , सञ्जय सन्तोषी राईलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरियो ।
सोही कार्यक्रममा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मीलाई पुरस्कृत गरियो । पुरस्कृत हुने पत्रकारहरुलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँ सहित दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गरियो ।
यसैगरी चार दशकयता देखि इटहरीमा रहेर पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएको भन्दै लेख वहादुर श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको गरियो । प्रदेश खबरका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का ,सम्मानित अग्रज पत्रकारद्धय हर्ष सुब्बा र चन्द्र भण्डारी, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्ले, प्रेस चौतारी नेपालका अनुशासन कमिटिका सदस्य त्रिलोचन पौडेल, प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्कीले पत्रकारिता क्षेत्रका विषयमा बोलेका थिए ।




















