इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा सरोकारहरुको सभागितामा व्यवसायिक विषयवस्तु केन्द्रित अन्तरक्रिया गरियो ।
कार्यक्रममा सहभागी व्यवसायीहरुले पार्किगं, वैंक ब्याज लगायतका समस्या झेल्नु परिरहेको समयमा सरकारी निकायहरुबाट हुनु पर्ने जति सहयोग पाउन नसकेको गुनासो गरे । सो अवसरमा व्यापारीहरुले प्रहरी प्रशासन तथा सरकारी निकायहरूले विभिन्न वहानामा दुःख दिने गरेको समेत गुनासो गरे । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षतामा भएको अन्तरक्रियामा आर्थिक मन्दिले व्यापार व्यवसाय थलिरहेको अवस्थामा व्यापारीहरुले पार्किङ समस्या घरबहाल कर ,वैंक ब्याज ,राजस्व वृद्धिले थप मार पारेको गुनासो समेत गरेका थिए ।
व्यवसायीहरुले खुल्ला सिमानाबाट भन्सार नतिरी चोरी निकासी गरि भित्रने सामानसंग आफुहरुले भन्सार तिरेर ल्याइएका सामानले प्रतिस्पर्धा गर्न नसकिरहेका समेत वताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख अर्जुन न्यौपानेले भिसिटिएस् प्रणाली अवैध व्यापारलाई नियमन गर्न ल्याइएको जानकारी गराए । चोरी निकासी रोक्न सशस्त्र प्रहरी सक्रिय रहेको सशस्त्र प्रहरी वल वराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले जानकारी दिए । कोसी प्रदेशमा करिब ४५० किमी खुल्ला सिमाना पर्ने र सशस्त्र प्रहरीले विभिन्न युनिट वनाएर सिमाक्षेत्रबाट हुने अवैद्य चोरी ,निकासी र पैठारी नियन्त्रणका लागि खटिरहेको वताए । कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय कोसी प्रदेश प्रमुख खेमराज ओझा ,सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र सुनसरी जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीले अवैध व्यापार व्यवसायलाई नियन्त्रण र कारवाहीको दायरामा ल्याउन व्यवसायीहरुले समेत सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।




















