भोजपुर । विपन्न तथा लक्षित वर्गका बालबालिकाहरुको शिक्षा स्वास्थ्य लगायतका आधारभुत आवश्यकताका क्षेत्रमा सहयोग पुर्याउदै आएको किवानिस क्लव अफ इटहरीले भोजपुरको एक विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री सहयोग गरेको छ ।
भोजपुरको अरुण गाउँपालिका वडा नम्बर १मा रहेको कोशी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा , अभ्यास पुस्तिका , खेलकुद सामाग्री वितरण गरिएको हो ।
किवानिस क्लव अफ इटहरीले बालबालिकाहरुलाई सहयोग गर्ने गरेको जानकारी पाएर स्थानीय लालवहादुर तामाङको पहलमा आफुहरुले विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिका साथै स्थानीय बालबालिकाहरुलाई न्यानो कपडा लगायतका सामाग्री वितरण गरिएको किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङले जानकारी दिइन ।
कोशी आधारभुत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई ट्रयाकसुट , एक वर्ष सम्म पुग्ने अभ्यास पुस्तिका , कलम विद्यार्थीहरुलाई सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक ढकाललाई शैक्षिक सामाग्री सहित खेलकुद सामाग्री हस्तान्तरण गरियो ।
विपन्न परिवारका विद्यार्थीहरुका लागि सुर्य राई बम , सुन्दर लावती ,अनिल सुब्बा , दुलर्भ कार्की लगायतले सहयोग गरेको सो अवसरमा जानकारी गराइयो । बालबालिकाहरुको क्षेत्रका काम गर्ने किवानिस क्लव अफ इटहरीले आगामी दिनमा वालवालिका लक्षित निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने जानकारी दिए ।




















