इटहरी । सेवाग्राहीहरुको सहजताका लागि इटहरी उपमहानगरपालिकाले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
उपमहानगरपालिकामा विभिन्न विभिन्न किसिमका सेवा लिन आउने सेवाग्राहीहरुले दुख नपाउन भनेर उपमहानगरपालिकाले स्थापना गरेको नागरिक सहायता कक्षको नगरप्रमुख हेमकर्ण पौडेले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।
सेवाग्राहीहरुले उपमहानगरपालिकाबाट सेवा लिन आउदा सहज होस भन्ने उद्धेश्यले नागरिक सहायता कक्ष स्थापना गरिएको इटहरी उपमहानगरपालिका प्रवक्ता दिवस पोखरेलले जानकारी दिए ।
इटहरी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नागरिक सहायता कक्ष सहित भौतिक पुर्वाधार प्रयोगशाला , खाद्य गुण मापन प्रयोगशालाको एक साथ उदघाटन गरियो । उदघाटन कार्यक्रमका प्रमुख अथिती उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै इटहरी सरकार मेलमिलाप र एकता गरेर अघि वढी रहेको वताए ।
विकास निर्माणका साथै इटहरीलाई समृद्ध वनाउने सवालमा इटहरी सरकारमा मेलमिलाप रहेको वताउदै नगरप्रमुख पौडेलले इटहरीलाई भौतिक पुर्वाधार सम्पन्न सहर वनाउन आकासे पुल , सभा गृह निर्माण गर्ने देखि लिएर नगरवस सञ्चालन गर्ने समेत उल्लेख गर्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिदै आएको जानकारी गराए ।
सोही अवसरमा युवा इन्जिनियरहरुले इटहरी उपमहानगरपालिकाको दुई वटा दुई पाग्रे विद्युतिय सवारी साधनलाई हस्तान्तरण गरे । युवा इन्जिनियरद्धय आदित्य आचार्य र रिसव गडतौलाले निर्माण गरेको विद्युतिय मोटरसाईकल उपमहानगरपालिकालाई सोही कार्यक्रममा हस्तान्तरण गरियो ।
इटहरी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरु , कर्मचारी , सञ्चारकर्मी ,नगरवासी लगायतको सहभागिता रहेको थियो ।




















