इटहरी । अनलाईन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न सुरु गरेपछि अहिले इटहरी क्षेत्रमा घर बनाउने घरधनीहरुलाई सजिलो हुन थालेको छ । 

 घर नक्सा बनाउन लिनुपर्ने इजाजत पत्र अनलाईन प्रणालीबाट नै हुन थालेपछि नगरबासीहरुले फाईल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । काम पनि छिटो र सजिलो तरिकाले हुन थालेको छ ।  

एक बर्ष अघि घर बनाउन इजाजत पत्र लिन आउने नगरबासीले नक्साको फाईलमा सहि गराउन कोठा कोठा धाउँनुपथ्र्याे । प्रत्येक फाँटमा भिडभाड, लाईन बस्नुपर्ने, फाईल हराउने, फाईल तल माथी हुँदा लाईन बसेका व्यक्तिहरु वीच झगडा नै पथ्र्यो ।

 दैनिक जसो नक्सा बनाउन आउने सेवाग्राही र कर्मचारी विच भनाभन हुन्थ्यो । अलि बढि भिड भएको दिन त सेवाग्राहीले ढिलो भयो भन्दै नाराबाजी नै गर्थे । 

कार्यलयका कर्मचारीहरुलाई पनि सास्ती थियो । सेवाग्राहीको भीड र फाईलहरुको थुप्रोमा काम गर्नु उनीहरुको बाध्यता थियो । यस्तो तनावपूर्ण वातावरणमा कर्मचारीले काम गर्नुपर्ने अवस्था थियो । 

तर पछिल्लो ९ महिना यता नगरबासीले यस्तो सास्ती भोग्नु परेको छैन । उनीहरुको काम अनलाईनबाट नै हुन्छ । कर्मचारीले पनि सहज वातावरणमा काम गर्न पाएका छन् ।

इटहरी उपमहानगरपालिकाले गएको बैशाख महिना देखी घर नक्सा बनाउन अनलाईन प्रणाली सुरु गरेको छ । त्यस यता नागरिकलाई इजाजत पत्र लिन सजिलो भएको छ । 

अनलाईन सिस्टमबाट काम सुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इन्जिनियर कैलाश तिम्सिनाले बताए । अनलाईन प्रणाली राम्रोसँग सञ्चालन भईरहेको र यसले नगरबासीलाई धेरै सजिलो भएको इन्जिनियर तिम्सिनाको भनाई छ । 

‘अहिले कुनै पनि नगरबासीले फाईल बोकेर उपमहानगरपालिका धाउनुपर्दैन, हिजो हामी सबैले जुन अप्ठ्यारो भोग्नु परेको थियो त्यो अहिले भोग्नुपर्दैन’ इन्जिनियनर तिम्सिनाले भने । 

कुनै कानुनी उल्झन, छिमेकी साँधसदिँधयारको असहयोग वा भनौ चार किल्ला क्लियर भएको अवस्थामा सिस्टममा अपलोड भएको फाईलको काम  १५ देखी २० दिन भित्रमा सम्पन्न हुने इन्जिनियर तिम्सिनाले जानकारी दिए । तर जग्गामा कुनै कानुनी उल्झन आयो भने त्यसलाई व्यवस्थापन, नापजाँच गर्दा भने केही समय लाग्न सक्छ । 

Kailash Timsina

पुराना फाईल नक्साको डिजिटल कपी बनाएर उपमहानगरमा राख्ने साथै एक कपि सम्बन्धीत घरधनीलाई दिने योजना अनुसार काम भईरहेको उनले सुनाए । 

‘हामीसँग थुप्रै पुराना फाईहरु छन् । तिनिहरुलाई पनि डिजिटलाईज गर्ने काम अब केही समयमा सकिन्छ । त्यस पछि एक कपि फाईल सम्बन्धित घरधनीलाई बोलाएर हस्तान्तरण गर्ने हाम्रो योजना छ,’ इन्जिनियर कैलास तिम्सिनाले भने । 

अनलाईन प्रणाली सुरु भएको बैशाख महिना देखी पुस महिना सम्म ४३१ जनाले भवन निर्माण सम्पन्नको प्रमाण पत्र लिईसकेका छन् । प्लिन्थ लेभल सम्मको इजाजत पत्र लिनेको संख्या २३७ छ भने प्लिन्थ लेभल भन्दा माथीको इजाजत पत्र लिने घर धनीको संख्या २४३ रहेको छ । यो अवधिमा ४०६ जना घरधनीको घरको अभिलेखिकरण प्रमाण पत्र पनि वितरण गरिएको घर नक्सा शाखाले जानकारी दिएको छ । 

‘ सफ्वेयरलाई थप अपडेट गर्नुपर्छ ’

इटहरी ८ मा घर बनाउन सुरु गर्न लागेका रविन लम्सालले अनलाईन सिस्टम सुरु भएपछि नक्सा बनाउन सजिलो भएको बताए ।

उनी अहिले पहिलो चरणको निर्माण इजाजत लिएर घर बनाउन सुरु गर्दैछन् । इजाजत लिन आफु फाईल बोकेर धाउनु नपरेको उनले सुनाए ।  

लम्सालको घरको नक्सा उपमहानगरले निशुल्क बनाईदिएको हो । उपमानगरको घर नक्सा निर्माण शाखाले १ हजार स्वायर फिट भन्दा कमका घरको निशुल्क नक्सा बनाईदिने गरेको छ ।  लम्सालले पनि सोही अनुसार निशुल्क नक्सा बनाएका हुन । 

निःशुल्क नक्सा बनाएर अनलाईन सिस्टममा अपलोड गरेपनि विल्डीङ स्ट्रचर एनालाईसिस गर्ने कर्मचारीको अभावमा भने केही दिन काम ढिलो भएको उनको अनुभव छ । 

स्ट्रचर एनालाईसिस गर्ने एक जना मात्रै कर्मचारी रहेका कारण आफ्नो काममा ढिलाई भएको उनले सुनाए । 

Rabin Lamsal

घर नक्साको इजाजत अनलाईन वितरणमा सफल भएपछि  इटहरी उपमहानगरले गएको साउन देखी निःशुल्क नक्सा पनि बनाईदिने सेवा सुरु गरेको छ । नगरबासीलाई निःशुल्क घर बनाईदिने पहिलो पालिका भएको उपमहानगरको दावी पनि छ ।  

साउन महिना देखी १ हजार स्वायर फिट भन्दा साना घरको निःशुल्क नक्सा डिजाईन गरिदिएर राहत दिएको उपमहानगरको भनाई छ । 

१ आर्किटेक इन्जिनियर, ४ सिभिल इन्जिनियर, २ सब इन्जिनियर,४ असिस्टेन्ट सब इन्जिनियर र १ अमिन सहितको प्राविधिक टोलीले नगरबासीलाई घरको नक्सा निःशुल्क डिजानईन गरिदिन्छन् । 

१५ सय स्वायर फिट भन्दा माथीको भने नगरबासीले तोकिएको शुल्क तिर्नुपर्छ । अहिले दैनिक रुपमा ३ देखी ४ जना नक्सा बनाउन बुझ्न आउने गरेको घरनक्सा निर्माण शाखाका प्रमुख आर्टिकेट इन्जिनियर अरुण घिमिरले जानकारी दिए । 

साउन देखी पुस २६ गते सम्मको तथ्यांक अनुसार २१४ जनाले घरनक्साका लागि निवेदन दर्ता गराएका छन् । जसमा १८० घरधनीले नयाँ घर बनाउन निवेदन दिएका हुन ।

 २३ घरधनीले अभिलेखीकरणका लागि निवेदन दिएका हुन भने अन्यले तला थपको लागि निवेदन दिएको निर्माण शाखाले जानकारी दिएको छ । 

सेवाग्राहीहरुको रुचि अनुसार घरको नक्सा डिजाईन गरी हाल सम्म ९५ जनाको सिस्टममा अपलोड भईसकेको घरनक्सा निर्माण शाखाका प्रमुख इन्जिनियर घिमिरेले जानकारी दिए । 

सेवाग्राहीको चाप धेरै रहेको उनले सुनाए । चाप धेरै भएका कारण टारगेट अनुसार नक्सा डिजाईन गर्न गाह्रो भईरहेको उनको भनाई छ । शाखाले दैनिक कम्तिमा एक घरको नक्सा डिजाईन गर्ने टारगेट राखेको इन्जिनियर घिमिरले जानकारी दिए । 

Arun Ghimire

इटहरी उपमहानगरले सुरु गरेको अनलाईन सिस्टम राम्रो भएपनि अझै सुधार गर्दै जानुपर्ने नीजि क्षेत्रबाट घर नक्साको काम गर्दै आएको इन्जिनियरिङ कन्सल्टेन्ट सोसाइटी इटहरीका अध्यक्ष इन्जिनियर उमेश तुम्बाहाङले बताए । 

पहिले जस्तो फाईल बोकेर हिड्नुपर्ने अवस्था अहिले नभएको उनले सुनाए । अनलाईनको सफ्टवेयरमा धेरै लामो प्रोसेस(प्रकृया) रहेको, त्यसमा केही प्राविधिक समस्याहरु देखिएको जसलाई सुधार गर्दै सफ्टवेयरलाई अपग्रेट गर्नुपर्ने उनी सुझाव दिन्छन् । 

अर्को तर्फ निःशुल्क घर नक्सा बनाउने काममा पर्याप्त कर्मचारी नहुँदा उपमहानगरको योजनामा चुनौति देखिएको अध्यक्ष तुम्बाहाङ बताउँछन् । 

नक्सा डिजाईन गर्ने दक्ष कर्मचारी प्रर्याप्त नभएको र एक जना मात्रै स्ट्रक्चर एनालाईसिस गर्ने इन्जिनियरबाट काम गराउन खोज्दा सेवा प्रभावकारी हुन नसकेको उनको भनाई छ । 

‘बाहिरका कन्सल्ट्यान्सहरुमा धेरै इन्जिनियर हुँदा त स्ट्रक्चर एनालाईसिस गर्न लामो समय लाग्ने काम गर्न,एक जना मात्रै कर्मचारी छन्, कम्तीमा डेढ देखी २ दिन लाग्ने काम एक व्यक्तिले कसरी गर्न सक्छ ? अध्यक्ष तुम्बाहाङले प्रश्न गर्दै भने निःशुल्क घर नक्साको योजना सफल बनाउने हो भने प्रर्याप्त कर्मचारी राख्नुपर्छ हैन भने योजना असफल बन्न सक्छ । 

यदि नगरबासीलाई साँच्चै राहत दिने हो भने राजश्व कम गर्नुपर्ने उनको तर्क छ । घर निर्माणमा तिर्नुपर्ने राजश्व धेरै बढेको उनले बताए ।  निःशुल्क भने पनि राजश्व धेरै हुँदा नगरबासीले राहतको महसुस गर्न नसक्ने अध्यक्ष तुम्बाहाङले बताए ।

Umesh Tumbahang


यता, अनलाईन सिस्टम सुरु भएपछि नगरबासीले सहज र सरल रुपमा सेवा लिन पाएको उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेल दाबी गर्छन ।

ठुलो प्राविधिक चुनौतिलाई समाधान गर्दै घरनक्सालाई व्यवस्थित गर्न अनलाईन प्रणाली सफल भएको उनको भनाई छ ।

तर निःशुल्क घर नक्सा निर्माण शाखामा प्रर्याप्त कर्मचारी नहुँदा भने प्रभावकारी काम निकाल्न नसकिरहेको उनले बताए । 

‘ नेपाल भरमै पहिलो पटक इटहरीले नमुना काम सुरु गरेको हो । यो अन्त कतै छैन, हामीले सुरु गरेकाछौँ । ’ नगर प्रमुख पौडेलले भने ‘अर्को तर्फ इटहरी शहर सबै ढंगबाट सुरक्षित छ, यहाँ घर बनाउनेको चाप धेरै छ, त्यसमा अझ निःशुल्क भने पछि नगरबासीको चाप बढि हुने नै भयो, त्यस हिसाबले पनि बढि चाप परेको हो ’ 

तर अब अपुग दक्ष कर्मचारी थप गरेर घरनक्सा शाखालाई व्यवस्थित गर्ने नगर प्रमुख पौडेलले बताए । 

घरनक्सा शाखामा हुने भिडभाड व्यवस्थापन गर्न अनलाईन प्रणाली सफल भएको छ । नागरिकले सहज सेवा लिन पाएका छन् । नेपालभरका पालिकाहरु मध्ये पहिलो पटक निःशुल्क घर नक्सा डिजाईन गरिदिने उपमहानगरको योजनालाई सफल बनाउन भने दक्ष र पर्याप्त कर्मचारीको व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।