धनकुटा । नेपाल एकिकरण गर्ने क्रममा राष्ट्रपिता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा रहेको तत्कालिन गोर्खाली सेनाले प्रयोग गरेको विभिन्न गढी, किल्ला, दरवार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरु पहिचान गरी संरक्षण, सम्वर्द्धन र विकास गर्ने अभियानलाइ नेपाली सेनाले प्राथमिकता दिएको छ । 

नेपाल एकीकरण हुदाँ सुनसरी र धनकुटा जिल्लामा प्रयोग भएका ऐतिहासिक एकीकरण पदमार्ग पहिचान गरी सोको सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने योजना अनुसार शुक्रबार ऐतिहासिक साँगुरीगढी एकीकरण मार्ग पदयात्राको आयोजना गरिएको छ ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाको पुर्वी पृतना मुख्यालयको निर्देशन तथा श्री नम्बर २ अड्डा हिलेको समन्वयमा धनकुटास्थित भीमदल गण र इटहरी स्थित कृष्णदल गणले संयुक्त एकिकरण मार्ग पदयात्रा अभियान सम्पन्न गरेको हो ।

राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मदिन तथा राष्ट्रिय एकता दिवसको अबसर पारेर आयोजित पदयात्रा धरानको फुस्रेदेखि शुभारम्भ भई धनकुटा जिल्लाको ऐतिहासिक साँगुरीगढी पुगेर बिसर्जन भएको थियो ।WhatsApp Image 2024-01-12 at 16.33.58

पदयात्रा ऐतिहासिक साँगुरीगढीमा आयोजना गरिएको समापन कार्यक्रममा नेपाली सेनाका पुर्वी पृतनापति उपरथी आशबहादुर तामाङ पिएचडीले पदयात्रा कार्यक्रमले ऐतिहासिक मार्गको पहिचान गरी संरक्षण, सम्वर्द्धन र विकास गर्न थप मद्दत पुग्ने  बताए ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पदयात्रा कार्यक्रमको सफल आयोजनाले साँगुरीगढी लगायत उक्त क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।WhatsApp Image 2024-01-12 at 16.33.42

पदयात्री तिलक ढकालले पदयात्रा धेरै राम्रो यसले आउने पुस्तालाई स्वभिमान परम्परालाई समेत बचारा राख्ने भएकोले यो कार्यक्रमको प्रसन्सा गरे । 

साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र राईले नेपाल र नेपाली सेनाको ईतिहासको प्रवर्धन र संरक्षण गर्ने तथा नेपाली संस्कृती र परम्परा प्रवर्धनमा सहयोग पु¥याउने उद्धेश्य अनुरुप नेपाली सेनाले अगाडि सारेको विविध गढी, किल्ला, दरवार तथा एकीकरण पदमार्गहरुको संरक्षण, सम्बर्धन र विकास गर्ने कार्य प्रशंसनीय रहेको बताए ।WhatsApp Image 2024-01-12 at 16.34.01

भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले साँगुरीगढी एकीकरण मार्ग पदयात्राको सन्दर्भमा जानकारी दिए ।

सो अबसरमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण,तथा कृष्ण दल गणका गणपती प्रमुख सेनानी अमित लामाले भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापालाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए भने झण्डोत्तोलन तथा सलामी अर्पण तथा विविध साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रममा श्री नम्बर २ बाहिनीका बाहिनीपति सहायक रथी रामकाजी थापा, सर्वज्ञ दल गणका गणपति विमल कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।