इटहरी । धर्तिको पहिलो तीर्थ स्थल वराहक्षेत्र साथै वराहक्षेत्र आसपासका धार्मिक क्षेत्रहरुको प्रचारप्रसार सहित धार्मिक महत्वका विषयमा जागरण गर्ने उद्धेश्यले १५ दिने वृहत्तर वराहक्षेत्र पैदल परिक्रमा गरिने भएको छ ।
प्रथम जगतगुरुपिठ चतरा धामको आयोजना तथा प्रथम जगतगुरु बालसन्त मोहनशरणको अगुवाईमा वराहक्षेत्र सहित धार्मिक क्षेत्रहरुलाई मध्यकेन्द्रमा पार्ने गरी यही कार्तिक २४ गतेबाट वृहत्तर वराहक्षेत्र पैदल परिक्रममा गरिने भएको हो।
वराहक्षेत्र पैदल परिक्रमाका विषयमा प्रथम जगतगुरुपिठ चतराले इटहरीमा पत्रकार सम्मेलन गरि वराहक्षेत्र सहित आसपासका धार्मिक महत्व वोक्ने मठमन्दिर र नदीहरुलाई केन्द्रमा पारेर सुनसरी , मोरगं , धनकुटा र उदयपुरका विभिन्न स्थानहरुमा जगतगुरु समेतको सहभागितामा साधुसन्त , भक्तजनहरुले पैदल परिक्रमा गर्ने कार्यक्रम रहेको नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरणले जानकारी गराएका हुन ।
पत्रकार सम्मेलनमा वराहक्षेत्र र विष्णुपादुका, कोकाह लगायतका क्षेत्रमा मध्यकेन्द्रमा पारेर गरिने पैदल परिक्रमाको उदघाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सहित लगायतको सहभागिता हुने समेत जनाइयो । वराहक्षेत्र पैदल परिक्रमा कार्यक्रम प्रथम पटक हुन गएको र निरन्तर रुपमा आयोजना गरिने समेत सो अवसरमा जानकारी गराइयो ।




















