इटहरी । थारु समुदायको उल्लेखिय बसोबास रहेको सुनसरीको इटहरीमा पनि जितियाको अवसर पारेर जितिया सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा ४ पोखरी टोलमा थारु कल्याणकारी सभा इटहरी ४को आयोजना थारु महिला सभा इटहरी ४को सहकार्यमा थारु समुदायको भाषा संस्कृति पोखरीको संरक्षणमा जोड दिदै जितिया विशेष कार्यक्रम आयोजना गरिएको हो ।
थारु महिला सभा इटहरी वडा नम्बर ४की अध्यक्ष सिता चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा थारु समुदायका विभिन्न पक्षका विषयमा चर्चा गरिएको थियो । 
कार्यक्रमका वक्ताहरुले जातिय भेषभुषा, कला संस्कृति संरक्षणका जोड दिएका थिए ।
थारु समुदायका महिलाहरुले सन्तानको दिघार्यु सुख शान्तिको कामना गर्दै जितमहानको निरहार व्रत बसेर जितिया पर्व मनाउने चलन रहेको छ । सो कार्यक्रममा सांस्कृतिक कार्यक्रम , सम्मान कार्यक्रम समेत गरियो ।
कार्यक्रममा थारु कानुन व्यवसायी सभाका केन्द्रीय अध्यक्ष रामराज चौधरी , थारु महिला सभाकी पुर्व केन्द्रीय सदस्य सुशिला चौधरी , थारु महिला सभा सुनसरीकी अध्यक्ष सुशिला लेखी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















