इटहरी । बाढी, भुकम्प र आगलागी जन्य विपद व्यवस्थापनलाई मध्यनजर गर्दै सुनसरीको कोशी गाउँपालिकाको कटान क्षेत्रमा संयुक्त कृतिम घटना अभ्यास गरिएको छ ।
जिल्ला सुरक्षा समिति सुनसरीको आयोजना तथा कोशी गाउँपालिकाको संयोजन तथा नेपाली सेनाको कृष्णदल गणको अगुवाईमा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाल रेडक्रस सोसाइटी लगायतको सहभागितामा कृतिम अभ्यास गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष समेत रहेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा भएको कृतिम अभ्यास कार्यक्रममा बाढी, भुकम्प र आगलागीका समयमा गरिने उद्धार खोजी व्यवस्थापन लगायतका विषय केन्द्रित अभ्यास गरिएको थियो ।
त्यसै गरी नेपाली सेनाको कृष्णदल गणका सेनानी रुपेस चापागाईको नेतृत्वमा नेपाली सेनाले दैनिक प्रयोग गर्ने ग्यास सिलिण्डरमा आगलागी भएको अवस्थामा कसरी सुरक्षीत हुने आगलागी कसरी नियन्त्रणमा लिने विषयमा जानकारी मुलक प्रर्दशनी गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्धय सदानन्द मण्डल ,इस्राइल मन्सुरी जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता नेपाली सेनाका कृष्णदल गणका गणपति अमित लामा विभिन्न पालिकाहरुका प्रमुख उपप्रमुख , विभिन्न सरकारी तथा गैर सरकारी संघसस्था , राजनैतिक दल , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 




















