इटहरी । कोशी प्रदेशमा सिपीमा मोती पालन प्रविधिको अनुसन्धान सुरु गरिएको छ ।
केही वर्ष अघि देखि गण्डकी प्रदेशको मत्क्ष्य अनुसन्धान केन्द्र बेगनाशले अनुसन्धान गर्दै आएको सफलता प्राप्त भएपछि कोशी प्रदेशमा पनि अनुसन्धान सुरु गरिएको हो।
विगत सात वर्ष देखि मत्क्ष्य अनुसन्धान केन्द्र बेगनाशले सिपीमा मोती पालनको अनुसन्धान गर्दै आएको र स्थानीय रुपमा पाइने सिपीमा सफल अनुसन्धान भई सकेकाले अन्य क्षेत्रमा समेत अनुसन्धान गर्ने योजना अनुसार कोशी प्रदेशमा समेत अनुसन्धान सुरु गरिएको जनाइएको छ । कोशी प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय तरहरामा स्थानीय जातको सिपीमा मोती पालन अनुसन्धान सुरु गरिएको केन्द्रका निर्देशक केशवप्रसाद श्रेष्ठले जानकारी दिए । सिपी पालन गरेर मोती खेती गर्ने विषयको मत्क्ष्य अनुसन्धान केन्द्र बेगनाशले सफलता पाएपछि कोशी प्रदेशमा पनि सुरु गरिएको र किसानहरुसंग मिलेर समेत अनुसन्धान गरिने निर्देशक श्रेष्ठले वताए ।
सिपीमा मोती पालन गर्न सकिने अनुसन्धान भईसकेको र सफल अनुसन्धान गर्नेहरुको सहभागितामा कोशी प्रदेशमा पनि सिपीमा मोती खेती गर्ने विषयको अनुसन्धान थालिएको कृषि अनुसन्धान निर्देशनालय तरहराकी मत्स्य अनुसन्धान इकाई प्रमुख अभिलाषा झाले जानकारी दिइन ।
गण्डकी प्रदेशको पोखरामा मत्स्य अनुसन्धान केन्द्र बेगनासले सात वर्ष लगाएर स्थानीय जातको सिपीमा मोती पालन गर्न सकिने प्रविधिको सफल अनुसन्धान गरेको केन्द्रका प्रमुख डा. मोहमद इकवाल हुसेनले वताए ।
सिपीमा मोती पालन प्रविधि किसान मैत्री रहेकोले माछासंगै सिपी पालन गरेर १२ देखि १८ महिनामा मोती लिन सकिने सफल अनुसन्धान भएको जानकारी दिए ।
कृषि अनुसन्धान निर्देशनालय तरहराले कृषि अनुसन्धान परिषद नार्क अन्तरगत रहेर कृषि क्षेत्रका विकासका लागि बाली, बागवानी , पशु पंक्षी , माछाको , घाँस लगायतका जातको अनुसन्धान र प्रविधिको विकासका क्षेत्रमा अनुसन्धान गर्दै आएको छ ।




















