इटहरी । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक २०८० प्रति आपत्ती जनाउदै आएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वान अनुसार काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी इटहरीका सामुदायिक विद्यालयका शिक्षकहरु पनि जाने भएका छन ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिमा आवद्ध विभिन्न शिक्षकसंग सम्वन्धित संगठनका तर्फबाट काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन इटहरीका शिक्षकहरु पनि जाने भएका हुन ।
इटहरी उपमहानगरपालिका शिक्षा शाखालाई नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्धारा घोषित आन्दोलन परिचालन समिति इटहरीका तर्फबाट असोज ३ गते देखि अनिश्चितकालिन विद्यालय बन्द गराएर आन्दोलनमा सहभागी हुन जान लागेको जानकारी पत्र वुझाइएको छ । शिक्षा शाखालाई वुझाइएको जानकारी पत्रमा महासंघको आन्दोलनका कारण हुन जाने शैक्षिक क्षतीलाई हिउँदे विदाबाट परिपूर्ती गर्ने प्रतिवद्धता समेत जनाइएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्धारा घोषित आन्दोलन परिचालन समिति इटहरीले शिक्षा शाखालाई जानकारी पत्र वुझाएको र शैक्षिक क्षतीलाई हिउँदे विदाबाट परिपूर्ती गर्ने समेत जनाएको शिक्षा शाखा प्रमुख फाल्गुणी काफ्लेले वताए ।
विद्यालय बन्द गरेर आन्दोलनमा उत्रनु आफुहरुको रहन नभएको शिक्षकहरु विपरित सरकारले शिक्षा ऐन ल्याउने तयारी गरेकाले आन्दोलनमा उत्रनु परेको आन्दोलन परिचालन समिति इटहरीका सहसंयोजक मेदन कुमार घिमीरेले जानकारी दिए ।
शिक्षा ऐन जारी गर्ने गरी सरकारले संसदमा पेश गरेको विद्येयक प्रति आफुहरुको आपत्ती रहेको आन्दोलन परिचालन समिति इटहरीका संयोजक बासुदेव कर्णले वताए । उनले विभिन्न चरणमा शिक्षकहरुले आफुहरुको पेशागत हकहितका लागि आन्दोलन गरेको र सरकारले मागहरु संवोधन गर्ने भनेर संझौता गरेपनि घोका दिएका कारण आन्दोलनमा उत्रनु पर्ने वाध्यता आएको जानकारी गराए ।
शिक्षकहरुको पेशागत हकअधिकारको आन्दोलनमा सहभागी हुने सुनसरी जिल्लाबाट एक हजार बढी शिक्षकहरु काठमाडौ जाने समेत जनाइएको छ । सरकारका तर्फबाट शिक्षा मन्त्रीले संसदमा पेश गरेको विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्र ऐन बन्ने संवैधानिक व्यवस्था रहेको छ ।




















