सङ्खुवासभामा । मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् ।  अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेको आरोप लगाए । 

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत २६ वैशाखमा छ्याङ्कुटी–दिदिड सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार रूपैयाँ दिने निर्णय गरेको थियो । मुआब्जापीडित संघर्ष समितिका संयोजक राईले माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे । उनका अनुसार संघर्ष समितिले खाँदबारी नगरपालिका–४ को छ्याङ्कुटी डाँडाबाट अरुण तेस्रोको यातायातका साधन आयोजनास्थल जान दिएका छैनन् । प्रवेशमार्गको चार सय ५४ रोपनीको जम्मा रु ५३ करोड ७४ लाख ५० हजार बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो ।

अरुण तेस्रो विद्युत आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभीएनले गरिरहेको छ । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ । आयोजना बनाउन एक खर्ब १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।