इटहरी । आज जनै पूर्णिमा सनातनि हिन्दू धर्मालम्वी तागाधारीहरुले विभिन्न मठ मन्दिरमा विशेष मन्त्रले मन्त्रिएको जनै लगाएर जनै पूर्णिमा मनाईदै छ ।
जनै लगाउनेहरुले ऋषिको सम्झनामा विभिन्न जलाशयमा गई माटो, गोबर, कुश, खरानी, अपमार्गेको प्रयोग गरी पवित्र भई विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गरिन्छ ।
आजकै दिन सुरक्षाको प्रतिकको रुपमा रहेको रक्षाबन्धन बाध्ने गरिन्छ । मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) लाई मन्त्र उच्चारण गर्दै ब्राहमणले नाडीमा बाँधिदिने गर्दछन् ।
जनै लगाउन तथा रक्षाबन्धन बाध्नका लागी विहानैबाट विभिन्न मठ मन्दिरमा भिड लागेको छ । इटहरीको राधाकृष्ण शिव मन्दिर लगायतका विभिन्न मन्दिरमा सर्वसाधरणहरुको भिड लागेको छ ।
दाजुभाई तथा दिदि बहिनीको पवित्र सम्बन्धलाई विखण्डन हुन नदिई आपसी सद्भाव कायम राख्नको लागी मर्यादाको प्रतिक रक्षाबन्धन राखी मैथली समुदायमा दिदी बहिनीले दाजुभाईलाई बाँधी दिने प्रचलन रहेको छ ।दिदि बहिनिहरुले आफ्नो दाजुभाईहरुको दिर्घायुको कमना गर्दै राखि बाँध्ने दिनका टाढाटाढा पनि दिदी वहिनी कहाँ दाजुभाई पुग्ने गरेका छन ।




















