इटहरी । सुनसरी जिल्ला स्थित नेपाली सेना श्रीकृष्णदल गणको समन्वयमा ईटहरी स्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत छात्र, छात्रा, विद्यालय संचालन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरु लाई एनसिसी तालिम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
युवा वर्गमा अनुशासन, वफादारिता, ईमान्दारिता, राष्ट्रिय एकताको भावना तथा नेतृत्व क्षमताको विकास गरि असल नागरिक बनाई राष्ट्र बिकासमा सहयोग गर्ने उदेश्यले नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अनुरुप सुनसरीका सरकारी तथा निजि विद्यालयहरुमा अध्ययनरत छात्र ,छात्राहरुलाई समावेश गरि हरेक वर्ष राष्ट्रिय सेवा दल एनसिसीको तालिम संचालन गर्दै आएको हो ।
कार्यक्रममा जानकारी मुलक कक्षा तथा एनसिसी तालिमको भिडियो समेत प्रस्तुत गर्दै तालिमको विषयमा श्रीकृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले जानकारी गराएका थिए । 
यस वर्ष पनि श्रीकृष्णदल गणले सुनसरी जिल्लामा रहेको निजि तथा सरकारी विद्यालयहरुलाई छनौट गरि एनसिसी जुनियर डिभिजन तर्फ नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी ईटहरी , आईडियल बोर्डिङ्ग स्कुल धरान र सैनिक आवासिय महाविद्यालय धरानमा तालिम संचालन भई रहेको छ ।
यसै क्रममा इटहरीको जनता माध्यमिक विद्यालयमा भाद्र १ गतेबाट संचालन हुने सिनियर डिभिजन तर्फको तालिमको विषयमा विद्यार्थी, अभिभावकहरु लाई जानकारी गराएको थियो । 
धरानको पब्लिक हाई स्कुल, बराहक्षेत्रको महेन्द्र मा.वि.मा एनसिसी तालिमको परिचयात्मक कक्षा सञ्चालन गरिसकेको छ ।
तालिममा आवद्ध छात्र,छात्राहरुलाई विपद् व्यवस्थापन सम्बन्धी ज्ञान, साहसिक तालिम, सैनिककला, शारिरीकतन्दुरुस्ती, व्यक्तित्व तथा नेतृत्वक्षमताको विकास हुनुको साथै तालिममा उत्कृष्ट मध्ये उत्कृष्ट विद्यार्थीले आफ्नो देशको प्रतिनिधित्व गर्ने गरि विदेश भ्रमण गर्ने अवसर प्राप्त गर्ने समेत गणपति प्रमुख सेनानी लामाले जानकारी दिए ।
सुनसरी जिल्लामा हालसम्म ११०९ जना छात्र,छात्राहरुले तालिम प्राप्त गरिसकेका छन् ।
कार्यक्रममा जनता मावि ब्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगाल,विद्यालयका प्रधानाध्यापक पशुपती सिग्देल,इटहरी उपमहानगर पालिका ६ का अध्यक्ष दिवश पोख्रेल लगायतको सहभागिता रहेको थियो ।




















