सामुहिक सहभागितामा सफा सुन्दर र सुरक्षित वसोवासलाई जोड दिदै सुनसरीको धरानमा साप्ताहिक सरसफाई अभियान र साप्ताहिक श्रमदान अभियान सुरु गरिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर १४का स्थानीयहरु वडाको सक्रियतामा साताको एक दिन सरसफाई र एक दिन श्रमदान गर्ने गरेका हुन ।

धार्मिक पर्यटकीय क्षेत्र विजयपुर समेत रहेको वडा नम्बर १४ मा साप्ताहिक रुपमा प्रत्येक शुक्रवार सरसफाई अभियान सञ्चालन हुदै आएको छ भने शनिवारको दिन वडा क्षेत्रको विकास निर्माणका लागि श्रमदान गर्न थालिएको छ । हरेक शनिवार श्रमदान अभियान सञ्चालन गरिएको वडा नम्बर १४मा सेउती खोलामा तटवन्ध निर्माणका लागि यो शनिवार स्थानीयले श्रमदान गरेका छन । बाढी पहिरोको जोखिम नियन्त्रणका लागि सुरु गरिएको तटवन्ध निर्माण कार्यमा स्थानीयले श्रमदान मात्र हैन आवश्यक सामाग्रीहरु समेत सहयोग गर्न थालेका छन । श्रमदानका साथै तटवन्ध निर्माण लागि आवश्यक पर्ने तारजाली, काम गर्ने स्काभेटर समेत स्थानीयले सहयोग रुपमा उपलव्ध गराएका छन ।  तटबन्धनका लागि १७ वटा तारजाली धरान १४ कै याख्या समितिका अध्यक्ष निरकुमार राई र सचिव केवी राईले उपलव्ध गराएका छन भने स्काभेटर  स्थानीय नविन केसीले उपलव्ध गराएका हुन । सुन्दर समाजको निर्माण गर्ने काममा समाजका सबैको सहयोग हुनु पर्नेमा जोेड दिदै वडा नम्बर १४ को विकासमा वडावासीको समेत योगदान रहदै आएको वडाध्यक्ष  कृष्णप्रसाद भट्टराइ वताउछन ।

उनले साप्ताहिक रुपमा प्रत्येक शनिवार गरिने श्रम अभियान अन्तर्गत विभिन्न प्रकारका सामाजिक विकासका काम गरिने समते जानकारी दिए ।