धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेल आउने र हाउजीमा स्कुटी पार्ने होडमा हेर्न आउने दर्शकको भीड अनियन्त्रित हुँदा शनिबार ३० जना घाइते भएका छन् ।

कार्यक्रम स्थलमा प्रवेश गर्ने समयमा प्रवेशद्धार बन्द भएको कारण जम्मा भएको दर्शकको ठेलामठेलको भीडले किचेर घाइते भएका हुन ।

सो भीडमा परी घाईतेहुनेहरुमा नाम नखुलेको ९ महिनाको बच्चा  र चार बर्षको बच्चा, तीन बर्षको सोनाम लिम्बु, ३१ बर्षको विष्णु राई उहाँको ६ बर्षको छोरा अबिुहाङ्ग लिम्बु, करिब ४५ बर्षकी गोमा कार्की, २२ बर्षकी अनिषा राई, ४० बर्षको नारायण राई, ६ बर्षको प्रकट श्रेष्ठ, ३३ बर्षको बुद्धिमाया लिम्बु, १७ बर्षको सबिन पौडेल, ४० बर्षको सन्दिप साह, ११ बर्षको सुनिल लिम्बु, १२ बर्षको प्रबेश राई र श्रेया कटुवाल, १३ बर्षको सबिन लिम्बु, ३६ बर्षको हिरा राना, ३० बर्षको अनुषा राई र बिनिता लिम्बु, ५० बर्षको प्रकाश प्रधान, अंशु सुवेदी, विसन तामाङ, उदीप राई, आर्यन राई, नन्दकुमार तामाङ, शान्ता योगी, कुसुम श्रेष्ठ, प्रेम दाहाललगायत रहेका छन् । 

घट्नास्थलबाट उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल पठाईएका ३० घाईते मध्ये थप उपचारकालागि १६ जना घाईतेलाई रिफर गरि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मिराज अधिकारीले जानकारी दिनभयो ।  

उहाँका अनुुसार धरानमा आईसियुको अभावका कारण दुईजना शख्त घाईतेलाई विरानगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको छ भने १२ जना जिल्ला अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् । 

भीड बढी भएपछि पनि महोत्सव आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको र झडपपछि भाग दौड मच्चिएको थियो । सो क्रममा च्यापिएर घाइते भएका हुन् । दुई तर्फको महोत्सव स्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्याधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा ठेलमठेल हुँदा घाइते भएका हुन । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारी जानकारी दिनुभयो । 

गत माघ ६ देखि आयोजित महोत्सवको नवौ दिन शनिबार साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुन केही क्षणअघि घटना भएको हो । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो । सांगितिक कार्यक्रममा सकिएपछि हाउजी खेलमा भने निःशुल्क रुपमा प्रवेश पाउने आशामा कार्यक्रम स्थलको गेटमा सर्वसाधारण बसेका कारण भिड भएको हो । 

घट्ना हुनासाथ अर्को सुचना नआउन्जेल सम्मकालागि स्थगित गरिएको कार्यक्रम आज आईतबार सुरक्षा र आयोजक समितिको संयुक्त बैठक बसि निर्णय गर्ने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।