मोरङ । मोरङ  सुनसरीका उद्योगी व्यावसायीले प्रतिकूल बैंकिङ नीति र चर्को ब्याजदर विरुद्ध निर्णयक आन्दोलन गर्ने  चेतावनी दिएका छन् ।  चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले आन्दोलनको तयारी गरिएको बताएका छन् । 

विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताए । सरकारको प्रतिकूल नीतिका कारण मुलुकभरका उद्योगी व्यवसायीहरू पीडित बन्नु परेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्षमा उनीहरू पुगेका छन् । 

राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेडदरलाई मौद्रिक नीतिको प्रथम समीक्षा अवधिमा ४ प्रतिशतमा झारे पनि आर्थिक क्षेत्रले त्यसबाट कुनै राहत महसुस नगरेको उद्योगी व्यवसायीहरूले बताए ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पनि आगामी आन्दोलन अन्तिम आन्दोलन हुने गरी तयारी अघि बढाइएको बताए । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले आन्दोलनको विकल्प नभएको बताए । 

मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले विद्यमान ब्याजदरमा कुनै पनि उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने बताए । उनले उद्योगी व्यवसायीहरूले आफ्नो अस्तित्वको रक्षाका लागि भए पनि आन्दोलनमा उत्रिनुपर्ने सुझाव दिए छन्।  

निर्माण व्यवसायी पुष्पराज भट्टराईले बैंकहरूले व्यवसाय र उद्योगधन्दामा ऋण लगानी गर्नुभन्दा राज्यलाई नै ऋण दिने मनस्थितिमा पुगेकोले अब आन्दोलनबाहेक अरु कुनै विकल्प नभएको बताए । होटल व्यवसायी सुरज श्रेष्ठले सरकारविरुद्ध बृहत् आन्दोलनको तयारी अघि बढाउन सहयोग गर्ने बताए ।