काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयबासिन्दाले घरेलु हतियारसहित प्रतिकार गर्नुका साथै चर्को नाराबाजी समेत गरेका छन् ।

उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध पनि नाराबाजी गरेका हुन् ।घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्रीविरुद्ध पनि चर्को नाराबाजी गरेका छन् ।

यसअघि बैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन) सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

तर, बागमती किनारामा टहरा बनाएर बसिरहेकाहरु त्यो सूचनाको बेवास्ता गरेर हट्न मानेका थिएनन् । त्यसैले, महानगरको टोली बस्ती हटाउन पुगेको थियो ।