काठमाडौँ । सरकारले गाडी र मोबाइल जस्ता महँगा वस्तुको आयातमा गरेको कडाइले भन्सारको राजस्व संकलन प्रभावित भएको छ । माग घटाउने केन्द्रीय बैंकको नीतिका कारण उद्योग–व्यवसायमा पनि मन्दी छाएको हो । यसको असर राजस्वमा परेको छ । अर्थ मन्त्रालयका अनुसार गत असोज महिनासम्ममा २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्षको ३ महिनाको तुलनामा १८ प्रतिशतले कमी हो । यो ३ महिनामा सरकारले २ खर्ब ७५ अर्ब ७१ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । तर लक्ष्य भन्दा ६७ अर्ब कम राजस्व संकलन भएको हो । सरकारले पहिलो त्रैमासमा लक्ष्यको तुलनामा ७५ दशमलव ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कुल बजेटको करिब ७० प्रतिशत राजस्वले धान्ने लक्ष्य राखेको सरकारलाई सुरुवाती ३ महिनाको यस्तो तथ्यांकले लक्ष्य पूरा हुनेमा आशंका थपिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा पछिल्लो १३ महिनादेखि देखिएको लगानी योग्य तरलता अभावको असर समेत सरकारी राजस्वमा पुगेको अर्थशास्त्रीहरुको भनाइ छ ।