धरान । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनसरी क्षेत्र नं. १ मा एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार मेन्याङ्बोप्रति आक्रोश जनाए ।
पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने दावी गर्दै ओलीले पार्टीको सहयोग पाउने भ्रम नपाल्न चेतावनी दिए । मेन्याङ्बोलाई उम्मेदवार बन्न पार्टीले आग्रह गर्दा सुरुमा अस्वीकार गरेको र पछि बागी बनेको ओलीले बताए ।
सुनसरी १ मा एमालेले जनता समाजवादी पार्टीका अशोक राईलाई समर्थन गरेपछि एमाले नेता एवं पूर्वमेयर मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई केहि एमाले कार्यकर्ताहरुको पनि समर्थन देखिएको बेला आज धरान आएर ओलीले एमालेको समर्थन पाएका उम्मेदवारलाई दायाँबायाँ नगरि मत हाल्न कार्यकर्तालाई निर्देशन दिए ।
एमाले अध्यक्ष ओलीले नेकपा एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताए । राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको बताउँदै उनले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु उल्लेख गरे । राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उनको दावी थियो ।
धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने भन्दै ओलीले मंसिर ४ पछि आयोजना सुरु गर्ने दावी गरे । उम्मेदवार अशोक राईले एमाले कार्यकर्ताहरुलाई अनुरोध गदैं छातामा मत हाल्नु खर्च नभई लगानी हुने बताए । सुनसरी १ मा एमालेजनहरुले अहिले लगानी गरे त्यसको प्रतिफल दिने उनको भनाइ थियो ।




















