काठमाडौं । हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । बुधबार हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने गरी गत शुक्रबार प्रारम्भिक सम्झौता गर्ने तय गरेको भएपनि अन्तिम समयमा विवाद हुँदा स्थगित गरेको  थियो ।लगातारको छलफलपछि सिभिल र हिमालयन बैंकले मर्जरमा सहमित जुटाएर आज सम्झौता गरेका छन् ।

सम्झौतामा हिमालयन बैंकका तर्फबाट  अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट  अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । 

सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको  सुनिल कुमार पोख्रेल  रहने सहमति भएको जनाएका छन् ।

सिभिल बैंकका कर्मचारीलाई सम्मानजनक समायोजन गर्ने सहमति हिमालयन बैंकले जनाएको सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले बताए ।

हाल हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड  ८७ लाख २५ हजार  ७२५ रुपैयाँ छ भने सिभिल बैंकको ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ रहेको छ ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भएपनि हिमालयन बैंकको साधारणसभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।