काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ ।

यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । शनिबार ठाडो खोलामा आएको बाढीले भत्काइदिएको छ । तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिएको थियो ।

विगु गाउँपालिकाका प्राविधिक शाखा प्रमुख एवम् सबइन्जिनियर सरोज खड्काले भने, ‘हामीलाई प्राविधिक गडबडी छ भन्ने शंका पहिल्यै थियो, त्यसैले काम रोक्नुस् भनेका थियौं । अहिले सानो पानीले नै क्षति पुग्यो ।’ टेको लगाउनुभन्दा अगाडि नै लेभल डाउन भएको देखेपछि काम रोक्न भनेको सबइन्जिनियर खड्काले बताए ।