सप्तरी। सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी व्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका थिए। त्यस क्रममा ट्रकभित्र हेर्दा गाँजा देखिएको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए। उनका अनुसार ट्रकमा ७ वटा बोरामा बाँधिएको अवस्थामा गाँजा भेटिएको छ । बरामद भएको ट्रकसहितको गाँजालाई  अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेका प्रहरी निरीक्षक तामाङले बताए ।