धरान । केही समय देखि धरानमा बंगुरमा देखा पर्दै आएको मर्ने समस्या भाइरसबाट सर्ने क्लासिकल स्वाइन फिवर भएको पुष्टि भएको छ ।

   धरान उपमहानगरपालिका वडा नम्बर ५ देउरालीमा किसानहरुले पालेका वंगुरहरु विगत केही दिन देखि मर्न थालेका थिए । प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणले भाइरसबाट सर्ने क्लासिकल स्वाइन फिवर फैलिएको पुष्टि भएको उपमहानगरपालिका पशुपंक्षी शाखाका महेन्द्र पैगारले जानकारी दिएका हुन ।

  पैगाराले धरान क्षेत्रमा यस अघि देखिनै क्लासिकल स्वाइन फिवर देखिदै आएको भएपनि यस पटक विकराल अवस्थामा देखापरेको वताए । उनले धरान क्षेत्रमा बंगुर मर्न थालेपछि पशुपंक्षीसंग जोडिने विभिन्न निकायहरुसंग समन्वय गरी रोग पहिचान गर्ने कार्य भएकाले भाइरस निस्तेज पार्न खोप लगाउने अभियान सुरु गरिने समेत जानकारी दिए ।

आफुले पालेका बंगुरहरु पनि केही मरिसकेको र केही विरामी रहेका बंगुर फार्म सञ्चालन गर्दै आएका राकेश राईले गुनासो गरे ।

धरानमा व्यवसायीक रुपमा पालन गरिएका बंगुरहरुको एकदुई गर्दै खोर रित्तिने गरी मर्न थालेपछि किसानहरु चिन्तीत वन्दै आएका थिए ।