झापा ।  मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चार वटा खोला मध्ये तीन वटामा जेसीवी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

झापाको मेचीनगर नगरपालिकामा अनावश्यकरुपमा हुने नदी दोहन नियन्त्रणका लागि नदी दोहनमा रोक लगाइएको हो । सकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो ।

मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको तीन वटा नदिहरु निन्दा, हडिया र टिमाई खोलामा ठेकेदारलाई जेसिवी मेसिनबाट प्रयोग नगर्न चेतावनी दिइएको छ । उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले ठेकेदारसँग सम्झौता भए अनुसार मेची खोला बाहेक निन्दा, हडिया र टिमाई खोलामा निर्माण सामाग्री उत्खनन् गर्दा जेसिवी प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो ।

ठेक्का सम्झौता अनुसार आईई प्रतिवेदन भएका निन्दा, हडिया र टिमाइ मध्ये मेची खोलामा जेसिवी मेसिन प्रयोग गर्न बन्द नगरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

ठेक्का अनुसार केहिदिनका लागि घर तथा अन्य सामाग्री निर्माण सम्बन्धी नदि उत्खनन् गर्न ट्याक्टर प्रयोग गर्न रोक नलगाइएको उहाँको भनाई छ । सरकारले देशभर असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ । मेचीनगरमा पनि चाँडै सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाउने तयारी गरिएको उपप्रमुख उप्रेतीले बताउनुभयो ।

मेचीनगर विगत बर्षहरूमा नदि उत्खनन अत्यधिक भएको भन्दै विवादमा समेत आएको थियो । तर, मेचीनगरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा आएको टिमले पदभार सम्हालेको केही दिनमा नै नगर क्षेत्रका नदि दोहन बन्द गरेको हो । मेचीनगर क्षेत्रका नदिमा अवैध उत्खनन रोकिएको छ । योसंगै अब मेचीनगरमा अवैध उत्खनन समाप्त हुने नगरबासीले अपेक्षा समेत गरेका छन् ।

मेचीनगर र नदीजन्य सामाग्री उत्खन्न गर्ने कम्पनीका बीच भएको सम्झौता अनुरुपको काम सम्पन्न भएपछि थप उत्खन्न हुन नदिन नदीमा रोक लगाइएको उपप्रमुख उप्रेतीले ले बताउनुभयो । नदी उत्खन्नमा रोक लगाइको बारे प्रहरी प्रशासनलाई समेत जानकारी गराइसकिएको मेचीनगर आर्थिक संयोजक दिपेन्द्र कार्कीले जानकारी दिदैं यो निर्णयको उल्लङघन गरे कार्वाही गरिने उहाँले बताउनुभयो ।