काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् ।

अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगले सञ्चालन भएको छ । बालेनसँग वडाध्यक्षहरुले खानेपानी, सडक, टेलिकमसँगका सहकार्य, बाढी, ढल र फोहोर व्यवस्थापन सम्बन्धी जिज्ञासा र सुझाव प्रस्तुत गरेका छन् । बालेनले तिनको जवाफसमेत दिएका छन् ।

सडकमै भल बग्ने समस्याको समाधानका लागि मेयर बालेन साहले हरेक घरमा कम्तिमा पाँच फिटको शोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव गरेका छन् ।

हरेक घरमा कम्तिमा पाँच फिटको शोक पिट भएर ग्राउण्ड वाटर रिचार्ज गर्न सकियो भने र हरेक वडामा रिभर्स बोरिङ राख्न सकियो भने पानी सडकमा आउने समस्या नरहने र पानी रिचार्ज पनि हुने उनले बताए । उनले त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा ढल ठूला राखिने र ढल सफा गर्न जेट मेसिन प्रयोग गरिने बताए । यी काम एकै वर्षमा गर्न सकिने मेयर साहको भनाइ छ ।

कार्यपालिका बैठकमा वडाध्यक्षहरुले वडामा नगर प्रहरी बढाउन माग गरेका थिए । उनले जवाफ दिँदै अबदेखि नगर प्रहरीको आवश्यकता पर्ने वित्तिकै सिधै नगर प्रहरी प्रमुखलाई फोन गर्न मिल्ने बताए ।

यस्तै वडाध्यक्षहरुले सिसडोलमा कसले बल प्रयोग गरेको हो भन्दै गरेको प्रश्नमा बालेनले यो कुरा गृह मन्त्रालयलाई सोध्नुपर्ने र त्यो अधिकार महानगरलाई नभएको बताए । ‘सिसडोलमा हाम्रो मात्रै फोहोर जाँदैन २२, २३ नगरपालिकाको फोहोर जान्छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफुलाइ थाहा नदिएको गुनासो गरे ।

वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले रुद्रमतीमा ढलको आकार सानो हुँदा डुबानको समस्या भएको र आफ्नो वडामा १५ दिनभित्र नौ वटा म्यानुअल कभर चोरी भएको गुनासो गरे।

बैठकमा उपमेयर सुनिता डंगोलले बैठक सकारात्मक भएको भन्दै सधैं पूर्व तयारी गरेर बैठक बस्नुपर्ने बताइन् ।

काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकले १२ वटा विषयगत समिति गठन गरेको छ । उपमेयरको संयोजकमा राजश्व परामर्श समिति, न्यायीक समिति सहित विभिन्न १२ वटा विषयगत समिति गठन भएको छ ।