इटहरी . इटहरी उपमहानगरपालिकामा अहिलेसम्म जित्दै आएको एमाले यसपटक पनि विजय हासिल गर्ने अभियानमा छ ।

उता पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिएको कांग्रेस पनि लालकिल्ला तोड्ने दाउमा छ । इटहरीको मेयरमा अघिल्लो निर्वाचनमा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए ।

उपमहानगरका २० वटा वडामध्ये सात वटा वडामा एमाले, १२ वटामा कांग्रेस र एउटा वडामा तत्कालीन मधेसी जनअधिकारका उम्मेदवार विजयी भएका थिए ।

इटहरीमा २०४८ सालपछि भएको स्थानीय तह निर्वाचनमा एमालेले मेयर जित्दै आएको छ । एमालेको विरासत कायमै राख्ने अठोटका साथ निर्वाचन अभियानमा जुटेका छन् एमालेबाट मेयर उम्मेदवार यामकुमार सुब्बा ।

उनले आफूलाई सबै नेताहरूको साथ रहेकाले चुनाव जित्नेमा ढुक्क छन् ।

उनी भन्छन्, ‘सबै क्षेत्रलाई समेटेर पार्टीले उम्मेदवार उठाएको छ । सबै नेताहरूको साथ पाएकाले जित्ने विश्वास राख्छु । उनले इटहरीको समृद्धिका लागि आफूले काम गर्ने बताए ।

अघिल्ला कार्यकालमा विजयी भएका नेताहरूले विकासको जग बसालेकाले आफूले जितेमा काम गर्न सहज हुने उनको विश्वास छ । उनी भन्छन्, ‘समग्र विकासमा समृद्धिको नारा लिएर चुनावी तयारीमा छु, यसपटक पनि एमालेले इटहरीमा जित्छ ।’

एमालेको लालकिल्ला मानिएको इटहरीमा सुब्बाले भनेजस्तो जित्न सहज भने छैन । गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी एक भएर मैदानमा होमिएकाले एमालेलाई इटहरीको नेतृत्व गुम्ने हो कि भन्ने त्रास छ ।

सुब्बाको राजनीतिक पृष्ठभूमि

०१५ भदौ २७ गते ताप्लेजुङको सान्थाक्रामा जन्मिएका सुब्बाले ०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् ।

भूमिगतकालमा विद्यार्थी राजनीतिमा संलग्न सुब्बा ०३४ सालमा ‘नेपाल ल क्याम्पस’को अनेरास्ववियु एकाइ कमिटी सदस्य हुँदै ०३६ सालको विद्यार्थी आन्दोलनमा १७ दिन प्रहरी हिरासतमा बसेका थिए ।

०४६ सालको जनआन्दोलनमा सहभागी भएका उनी ०५६ असोज ६ गते पार्टीमा संगठित सदस्य भए। उनले एमाले वडा कमिटी सदस्य, सचिव हुँदै नगर कमिटी सचिव र ०६३र६३ को जनआन्दोलन संयुक्त संघर्ष समितिको सचिवका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । उनी हाल एमाले इटहरी नगर अध्यक्ष छन् ।

०७१ मा नगरपालिकाबाट तत्कालीन हाँसपोसा, एकम्बा, खनार र पकली गाविस मिलेर उपमहानगरपालिका बनेपछि उपमहानगर कमिटीको संयोजक भएर काम गरेको उनको अनुभव छ ।

०७८ साल कात्तिक ९ गते भएको प्रथम उपमहानगर अधिवेशनबाट पुनः सर्वसम्मत नगरअध्यक्षको जिम्मेवारी पाएका सुब्बा विवादरहित छवि भएका नेताका रूपमा चिनिन्छन् । उनले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व पनि गरेका छन् ।

०७४ को चुनावमा एमालेका चौधरीले कांग्रेसका रोहित प्रसाईलाई पारजित गरेका थिए । चौधरीले २२ हजार ६८९ मत ल्याउँदा प्रसाईले १९ हजार ९८५ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रकी हरिमाया जिमीको मत तीन हजार ३६४ थियो । राप्रपाका रमेश कार्कीले तीन हजार ७१५ पाएका थिए ।