मोरङ ।  साबिक इन्द्रपुरमा प्रख्यात रहेका केदार गुरागाईँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट सुन्दरहरैंचाको  प्रमुख पदमा रहेर नगर सञ्चालनको अभिभारा लिन आतुर छन् । 

५ वटा गाविस मिलेर बनेको सुन्दरहरैंचा नगरपालिका अन्तर्गतको इन्द्रपुर गाविसमा सामाजिक अभियन्ता र समाजसेवीको रुपमा उनी परिचित थिए । पुराना सामाजिक अभियन्ता भएको हुनाले यस पटकको निर्वाचनमा पुराना र नयाँ मतदाताको मत आफूलाई आउने आशामा गुरागाईँ छन् । 

इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामा शुरुदेखि नै सक्रिय उनले सो आयोजनाको कामलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

फलस्वरुप लामो समयसम्म उनी सो संस्थाको अध्यक्ष हुन पुगे ।

सुन्दरहरैंचाकै गौरव गर्न लायक सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको संस्थापक सचिव भएर काम गरेका उनले आफू कार्यरत रहँदा क्याम्पसको स्थापनामा र क्याम्पसलाई टिकाइराख्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यसैको परिणामस्वरुप आज एउटा विश्वविद्यालयमा हुने जति विद्यार्थीको संख्यालाई सो क्याम्पसले उच्च शिक्षा दिइरहेको छ । 

नगरको ठूलो सहकारी संस्था हातेमालो सहकारी संस्थामा पनि उनी लामो समय आबद्ध रहे । संस्थामा रहँदा संस्था र शेयर सदस्यको हितमा सधैँ ध्यान दिएका गुरागाईँले नगर प्रमुखको पद पाए ‘सुन्दरहरैंचा विकासको बगैँचा’ नाराले मूर्त रुप पाउनेमा दुई मत नरहेको बताउँछन् सो संस्थाका शेयर सदस्य विक्रम श्रेष्ठ । 

यीलगायत अन्य धेरै सामाजिक संघ संस्था र आफ्नो गाउँ टोलमा उल्लेख्य काम गरेर प्रशंसित भएका गुरागाईँ अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट मेयर पदमा चुनाव लडेका थिए । ९ सय ६८ मतान्तरले पछि परेका उनी यस पटक पहिलेको हारलाई जीतमा परिणत गराउने कसरतमा छन् । उनको सो कसरतमा पूर्ण सहयोग गर्नेहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ । जसका कारण आगामी निर्वाचनमा उनी नगर प्रमुखमा विजयी हुनेमा मतदाता ढुक्क छन् ।