इटहरीः शेयर बजारमा नयाँ कम्पनी इमर्जिङ्ग नेपाल लिमिटेडले भोलि माघ २६ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले भोलि २६ देखि २०७८ फागुन १ गते बैकिङ्ग समय सम्म आइपिओ बिक्रि गर्ने छ । प्रतिकित्ता प्रति कित्ता रु १०० रुपैयाँको दरले ५ लाख ५५हजार ६०० कित्ता साधारण सेयर निष्काशन गर्दै छ । जसमध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीलाई ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखिएको छ भने बाँकि रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।
इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरोसेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । ४० लाख भन्दा बढि डिम्याट खाता होल्डर रहेको बजारमा १० कित्ता देखि बढिमा २० कित्ता सम्म आवेदन दिनुलाई उपयुत्त मानिन्छ । इमर्जिङ्गको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
कस्तो कम्पनी हो इमर्जिङ्ग नेपाल
इमर्जिङ्ग नेपाल लिमिटेड सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा प्रचलित कानुन बमोजिम, कम्पनी ऐन,२०६३ अन्तर्गत २०७२ श्रवान ३२ पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । नेपाल सरकारको समेत स्वामित्व रहेको यो कम्पनीले ०७२ चैत्र २६ गतेदेखि कारोबर गर्दै आइरहेको छ ।
इमर्जिङ्ग्ग नेपाल लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्वमा, प्रसिद्ध व्यवसायी संघ, बैंक तथा वित्तीय व्यवसायी, कर्मचारी र व्यवसायिक व्यक्तिलाई एक साथ ल्याई राष्ट्रिय प्राथमिकताको विभिन्न विषयहरुमा समाधानका उपायहरु प्रस्ताव गर्नेछ । यो कम्पनीको लक्ष्य नै राष्ट्रिय प्राथमिकताको क्षेत्र जस अन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातयात, संचार, उर्जा लगायत उद्योग, पर्यटन, स्वास्थ्य, यातायात, कृषि, वित्तीय र अन्य आर्थिक रुपमा महत्वपुर्ण योजनाहरु तय गर्नु र त्यसमा लगानी गर्नु रहेको बताइन्छ ।
इमर्जिङ्गको केन्द्रिय कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका १०, नयाँ बानेश्वर, कृष्ण टावरमा रहेको छ । कम्पनीसँग ५ अर्व अधिकृत पुँजी र ५५ करोड ५६ लाख जारी पुँजी छ भने संस्थापक सेयर ९० प्रतिशत छ । कम्पनीको संचालक समितिमा संस्थापक समुहका ४ जना , नेपाल सरकार अर्थ मन्त्रालयका एक जना प्रतिनिधि सहित सर्वसाधारण समुहबाट एक जना र एक जना स्वतन्त्र संचालक रहेने व्यावस्था रहेको छ ।