काठमाडौं । कुनै समय थियो, जतिबेला नेपाली हुन वा विदेशी सबैले खुलेआम क्यासिनोमा प्रवेश पाउँथे । नेपालीहरुले क्यासिनो पुगेर करोडौँ गुमाउदा परिवार र समाजमा बेमेल, झैझगडा भयो भन्दै नेपालीहरुको प्रवेश रोकिएको धेरै समय भएको छ । तर यो बिचमा विभिन्न माध्यमबाट जुवातासका गतिबिधिहरुमा संलग्न हुनेहरु पक्राउ परिरहेका छन् । कोही जुवाको खाल त कोही तासको खालबाट पक्राउ पर्ने क्रमले निरन्तरता पाउँदैगर्दा पछिल्लो समय भने अनलाईन जुवाका गतिबिधिहरु बढ्न थालेका छन् ।

आइतबार मात्रै पनि बौद्धस्थित एक रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा स्थायी घर भइ बानेश्वर बस्ने ३० वर्षीय सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट आइतबार साँझ ६६ जना पुरुष र ८ जना महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले उनीहरुको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद समेत बरामद गरेको छ । बिंगोका मुख्य सञ्चालक फरार भएपनि काठमाडौं महानगरपालिका–६ घर भएका मेनेजर वीरेन्द्र मानन्धरलाई भने पक्राउ गरिएको छ ।

बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारि दिएको छ । बिङ्गो खेल्नुअघि १५ वटा नम्बर भएको टिकट काट्नुपर्छ । बिजेतालाई खेलाउने व्यक्तिले निश्चित रकम पुरस्कार दिन्छन् । बिजेताले कति पुरस्कार पाउँछन् भन्ने पहिले नै तोकिएको हुन्छ । आइतबार ठूलो संख्यामा बिंगो खेलिरहेका व्यक्ति पक्राउ परेको घटनाले अनलाईन जुवाले नेपालमा विस्तार पाइरहेको देखाएको छ ।

चाहे भौतिक उपस्थितिमा होस वा अनलाईन एप्स मार्फत, जुवा खेल्नु वा सट्टाबाजी गर्नुलाई कानुनले कसुर मानेको छ । सरकारले क्यासिनो प्रवेशमा नेपालीहरुलाई रोक लगाएपनि अनलाईन एप्सका माध्यमबाट हुने जुवातास, ज्यकपोट बिङ्गो लगायतका गतिबिधिलाई नियन्त्रणमा लिन सकेको छैन ।

हातहातमा पुगेको मोवाइल बैंकिङ, इसेवा, खल्ती लगाएतका सुविधाले नगद बोक्नुपर्ने झञ्झटलाई समाधान गरिदिएपनि अनलाईन कारोबारका गलत आर्थिक गतिबिधिलाई भने बढावा दिइरहेका छन् ।

विंगो खेलाउने र खेल्नेहरु पक्राउ परेपनि कोभिड–१९ प्रोटोकल वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिने रेष्टुरेण्टका सञ्चालक सुवास घिसिङ भने फरार छन् ।

सुराकी पछ्याउँदै गरिने केही अप्रेशनबाट मख्ख हुने कि विक्रिति र समस्याको वास्तविक पहिचान गरेर समाधानतर्फ केन्द्रित हुने ? अनलाईन एप्समार्फत बढ्न थालेका जुवातास बिंगो, ज्याकपोटका गतिबिधि रोक्नेतर्फ राज्यको ध्यान गम्भिरताका साथ पुग्नुपर्छ ।