कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ ।

सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको जग्गा समेत अतिक्रमण गरी स्थानीयवासीले घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्कीलगायतका संरचना निर्माण गरेको भेटिएको हो ।

नापी र सडक डिभिजन कार्यालयले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्की गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाका सब इञ्जिनीयर वीरेन्द्र रावलले बताउनुभयो ।

सडक अतिक्रमण गरी निर्माण भएका दुई पक्की घर र चार सेफ्टी ट्याङ्कीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।