उर्लाबारी । नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक तथा कर्मचारीहरुको क्षमता अविवृद्धिका लागि आयोजना गरेको तीन दिने सस्थागत विकास तालिमको समापन गरेको छ ।

मोरङको उर्लाबारी-७ मा मुख्य कार्यालय रहेको सस्थाले नेपस्कुनको प्राविधिक  सहयोगमा सो तालिमको आयोजना गरि सस्थागत विकासका लागि आवश्यक कुराहरुको बारेमा सहभागिहरुलाई प्रशिक्षण गराएको हो । तालिम लेटाङस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ३ दिन सम्म संचालन भएको थियो ।

तालिममा संस्थाका सञ्चालक, लेखा समिति, सल्लाहकार, उपसमितिका पदाधिकारी र कर्मचारी गरी २८ जनाको सहभागिता रहेको थियो । विहिबार एक कार्यक्रम गरी सो तालिम समापन गरिएको छ । 

उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यता आयोजित समापन कार्यक्रममा सहभागीहरुले तालिम फलदायी भएको बताएका थिए । सो अवसरमा प्रमुख अतिथि मेयर फागोले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै सहकारीलाई नमूना बनाउन अघि बढ्न आग्रह गरे 

कार्यक्रममा सहकारीकी सल्लाहकार शोभितमाया तामाङ, कोषाध्यक्ष शोभा चेम्जोङ पालुङ्वा, सदस्य विस्तार समितिकी सदस्य सुमित्रा कोइराला, कर्मचारी संगीता राईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकी सभापति तथा संस्थाकी उपाध्यक्ष गोमा नेपालले तालिमले आफूहरुमा जिम्मेवारी थपिएको बताइन् ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा संस्था सञ्चालनका विधि, प्रक्रिया, सञ्चालक तथा कर्मचारीका जिम्मेवारी, आचारसंहिता, संस्था सञ्चालनका औजार, रणनीतिक योजनाका बारेमा सहजीकरण गरिएको थियो । 

नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले तालिमको सहजीकरण गरेका थिए । समापन कार्यक्रम संस्थाकी निर्मला घलेले सञ्चालन गरेकी थिइन् ।