इटहरी । सौर गणना (सोलार क्यालेन्डर)अनुसार नेपाललगायत उत्तरी ध्रुवका देशहरूमा आज (बुधबार) वर्ष २०७८को सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुने भएको छ ।

आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने भएको हो । पिण्डेश्वर क्याम्पसका सहप्राध्यापक तथा ज्योतिर्विद कृष्ण कोइरालाका अनुसार आज काठमाडौँ (गौरीशङ्कर हिमालको मापन)मा बिहान ६ बजेर ५२ मिनेटमा सूर्योदय भयो भने भरे साँझ पाँच बजेर १२ मिनेटमा सूर्यास्त हुनेछ । यो नै नेपालका लागि सबैभन्दा छोटो दिन हुनेछ ।

ज्योतिर्विद कोइरालाका अनुसार सूर्य दुई सय ७० डिग्रीमा पुगेको अङ्कमा २४ डिग्री घटाउँदा जुन बिन्दु (दिन) आउँछ, त्यो नै सबैभन्दा छोटो दिन हुनेगर्छ ।

योसँगै हरेक वर्ष डिसेम्बर २१ वा २२ तारेखका दिन वर्षको छोटो दिन र लामो रात हुनेगर्छ । यस वर्ष त्यो दिन आज (२२ डिसेम्बर) परेको छ । नेपालमा आजको दिनमान (दिनको समय) २५ घडी ५० पला अर्थात् १० घण्टा २० मिनेट तथा आजको रात्रिमान ३४ घडी १० पला अर्थात् १३ घण्टा ४० मिनेट हुने ज्योतिर्विद कोइरालाले बताए ।

दक्षिणी ध्रुवका देशहरू रुस, अस्ट्रेलिया, बेलायत, दक्षिणअफ्रिकालगायतमा आज उत्तरी ध्रुवका देशहरूभन्दा ठिक विपरीत अर्थात् रात छोटो र दिन लामो हुनेछ । उत्तरी ध्रुवमा भोलि (बिहीबार)बाट क्रमशः दिन बढ्दै र रात घट्दै जानेछ ।

हरेक वर्ष जाडोमा उत्तरी खण्ड सूर्यबाट २३ दशमलव ५ डिग्रीले टाढा हुन्छ, जसका कारण उत्तरी गोलार्धमा सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ । तर सौर पात्रोमा रहने तीन सय ६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले दिन छोटो र रात लामो हुने दिन डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्छ ।