काठमाडौँ — तत्कालीन राप्रपाले राजतन्त्रवादी धार छाड्दा त्यसप्रति असन्तुष्टि जनाउँदै कमल थापाले नयाँ दल राप्रपा नेपाल गठन गर्दा उनलाई साथ दिने एक जना नेता थिए, राजेन्द्र लिङ्देन । २०६४ पछि निरन्तर रुपमा थापाकै कित्तामा बसेका लिङ्देनले २०७४ सालको प्रतिनिधिसभामा झापाबाट चुनाव जित्दै संसद्‌मा राप्रपाको बीउ जोगाइदिएका थिए ।यसबीचमा पटक पटक विभाजन र एकता गर्दै अहिले एकता महाधिवेशन संघारमा पुग्दै गर्दा लिङ्देन थापाका लागि चुनौती बनेर खडा भएका छन् ।

नयाँ नेतृत्वका युवा पुस्ताको नारा अघि सार्दै लिङ्देनले अध्यक्षमा उम्मेदवार दिने तयारी सुरु गरेसँगै मंसिरको दोस्रो साता हुने महाधिवेशनमा नेतृत्वका आकाक्षी थापा र अर्का अध्यक्ष पशुपतिशमशेर राणा दुवैका लागि चुनौती बन्ने देखिन्छ । त्यसैगरी राप्रपाका अर्को अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफूपनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् । थापा र राणाको तुलनामा पार्टी संगठनमा लोहनीको पकड भने कमजोर छ । 

२०७६ फागुनमा एकता भएपछि राप्रपाको पहिलो पटक मंसिर ११ देखि १३ गतेसम्म हुन लागेको महाधिवेशनमा थापा र राणासँगै लिङ्देन अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन् । थापालाई लामो समयदेखि साथ दिँदै आएका नेता धवलशम्शेर राणाले लिङ्देनलाई साथ दिने सहमति जनाइसकेका छन् । लामो समयदेखि थापालाई साथ दिँदै आएका राणा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन् । लिङ्देन र थापाबीच दसैअघि नै यस विषयमा सहमति भइसकेको छ ।

  लिङ्देनले पार्टी बचाउनका लागि हस्तक्षेपकारी भूमिका खेल्ने महाधिवेशनमा मुद्दा बनाउन खोजेका छन् । लिङ्देनले राप्रपाको कार्यशैली र नेतृत्व परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको इकान्तिपुरलाई बताए । 'राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रतिस्पर्धी पार्टी बनाउने हो भने कार्यशैली र रणानीति परिवर्तन गरेर नेतृत्वमा समेत परिवर्तन गरेर जानुपर्छ' लिङ्देनले भने, 'नेतृत्वको पुस्तान्तरणको विषय तीनवटै अध्यक्षको अगुवाइमा यो काम होस भन्ने विषयमा प्रयासरत छौं । उहाँहरुले नै निकास निकाल्नु हुन्छ भन्ने आशामा छौं नभए हामी प्रतिस्पर्धामा गएर भएपनि नेतृत्व परिवर्तन गर्ने पक्षमा छौं ।'थापालाई लामो समयदेखि साथ दिएका लिङ्देनको गत आमनिर्वाचनपछि देखिनै फाटो आएको थियो ।

लिङ्देन निकट नेताहरुले थापाले थ्रेट महसुश गरेर तल्लो तहमा जनमत भएका नेताहरु लिङदेन र धवललाई किनारा पार्न थालेपछि अहिले दुवै एकै स्थानमा उभिन पुगेको बताउँछन् । उनले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा ठूलो जनमत भएपनि थापाले त्यसलाई संगठित गर्न नसकेको विषयलाई अघि बढाउने तयारीमा छन् । थापाको नेतृत्व पार्टी बाहिरका शक्तिका लागि विश्वसनीय हुन नसकेको ठहर गरेका छन् ।

  'धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता विरोधी पार्टी बाहिर ठूलो जनमत भएपनि त्यसलाई मतमा परिणत गर्न थापाले सक्नु भएन । बाहिरका संघसंस्थाहरुले समेत विश्वास गर्नसकेनन् त्यसैले त्यसमा परिवर्तन आवश्यक छ ' लिङ्देनको पक्षमा रहेका एक केन्द्रीय सदस्यले भने, '२०७० साल दोस्रो संविधानसभा जति जनमत प्राप्त भएको थियो । त्यसलाई पनि जोगाएर राख्न सक्नु भएन ।'  तर थापा निकट रहेका लिङ्देन प्रतिस्पर्धा आएपनि उनको राष्ट्रिय व्यक्तित्व बनिनसकेको कारण महाधिवेशनका प्रतिनिधिहरुले थापालाई छाड्न नसक्ने बुझाइ छ ।  थापा पक्षका नेताहरुको भने पूर्व राजाको सचिवालयका सदस्यहरु नै थापाविरुद्ध लागेको बुझाइ छ । राप्रपाका आर्थिक विभागका प्रमुख उद्घव पौडेलले सक्रिय राजतन्त्रको पक्षमा वकालत गर्नेहरु लिङ्देनलाई उम्मेदवार बनाउने पक्षमा रहेको बताएका छन् । 

'सक्रिय राजतन्त्रको पक्षमा रहेको शक्तिले लिङ्देनलाई अघि बढाउन खोजका छन् । सक्रिय राजतन्त्र नभइ सबैको संरक्षकको रुपमा रहने गरी संवैधानिक राजतन्त्र हुनपर्छ भन्ने थापाको विचार हो' पौडेलले इकान्तिपुरसँग भने, ' पार्टीलाई अघि बढाउनका लागि थापा जतिको क्षमतावान नेता राप्रपाभित्र छैन । अहिलको राप्रपाले बोकेको विचार नै थापाले प्रतिपादन गर्नुभएको हो ।

हिन्दु धर्म, एकतात्मक राज्य र संवैधानिक राजतन्त्र नै राप्रपाको विचार हो । थापा जतिको स्पष्ट दृष्टिकोण कसैको पनि छैन ।'  पौडेलकाअनुसार नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल बाहेकको कल्पना हुन नसकेको जस्तै थापा बिनाको राप्रपाको कल्पना हुन सक्दैन । उनले अध्यक्ष थापालाई बदनाम गर्नका लागि राजा निकटका कतिपय शक्तिहरुलाई लागेर आरोप लगाइरहेको बताए । 

लिङ्देनले महाधिवेशनको पशुपतिशम्शेरको बढ्दो उमेर, लोहनीसँग संगठनभित्र रहेको कमजोर पकड र थापासँग विश्वसनीयता कमी आएको विषयलाई मुद्दा बनाउने तयारी गरेको छ । तर थापाले भने राप्रपाभित्र धेरै पुरानो नेताहरु भएको कारण लिङ्देनलाई बाह्य शक्तिले सहयोगमा मात्रै नेतृत्वमा पुग्न नसक्ने बताउँछन् । 

उमेरले आठ दशक पुग्न लागेका राणा भने पूर्व राप्रपाभित्र देखिएको विभाजनबाट फाइदा लिएर अध्यक्ष बन्ने कोसिसमा छन् ।  राष्ट्रिय महाधिवेशनअघि राप्रपाका जिल्ला अधिवेशनहरु धमाधम भैरहेका छन् । आगामी कात्तिक २७ गते राप्रपाले सात वटै प्रदेशमा एकैपटक अधिवेशन गरेर नयाँ नेतृत्व छान्ने तयारी गरेको छ । मंसिर १ देखि ३ गतेसम्म महाधिवेशन प्रतिनिधिहरुको छनोट छ । 

राप्रपा महाधिवेशनमा लागि प्रत्येक प्रदेशसभाबाट निर्वाचन क्षेत्रबाट ३ खुला, ३ महिला, १ दलित र २ जनजाति प्रतिनिधि समेत नौ जना प्रतिनिधित्व हुने छ । जसको संख्या २ हजार ९ सय ७९ जना हुने छ । त्यसैगरी प्रत्येक पालिकाका सभापति ७ सय ५३, प्रदेशसभाका सभापति ३ सय ३०, प्रतिनिधससभा क्षेत्रका सभापति १ सय ६५, जिल्ला सभापति ७७, प्रदेश सभापति ७ जना सहभागी हुनेछन् । त्यसैगरी केन्द्रीय सदस्य र मनोनित गरि करिब ५ हजार जनाको प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छनोट गर्ने तयारी छ ।