विराटनगर । अहिले पनि जुट खेतीमा लागेका किसान आफ्नो उत्पादनले मूल्य नपाउँदा निराश छन् । ज्यादै ठूलो मिहिनेत र झन्झटिलो प्रक्रियाबाट बजारसम्म पुग्ने सनपाटले भाऊ नपाउँदा किसान लगातार यो खेतीबाट विमुख बन्दै गएका छन् ।

किसानका अनुसार अहिले बजारमा सनपाटको मूल्य प्रतिमन ४ हजार ५ सयदेखि ५ हजारसम्म मात्रै छ । अघिल्लो वर्ष यो सिजनमा सनपाट प्रतिमन ८ हजारसम्ममा विक्री भएको थियो । मोरङ धनपालथान गाउँपालिका – ६ बबियाविर्ताका उमालाल रायलाई यतिखेर भ्याइनभ्याइ छ । सनपाटलाई हिलोबाट झिकेर रेसा झिक्ने काममा उनी बिहानदेखि बेलुकैसम्म व्यस्त छन् ।

‘दसैं सकिएपछि तिहार र छठ मुखम आइसक्या,े’ पानी जमेको ठाउँदेखि सनपाट निकाल्न व्यस्त रायले भने, ‘तीन कट्ठामा सनपाट लगाएको छु । यही बेचर चाडपर्व मनाउने तयारी गरेको छु ।’ प्रति कट्ठामा ४ देखि ५ मन सनपाट उत्पादन भएको जानकारी दिँदै उने भने, ‘विगतको जस्तो अहिले सनपाटको भाऊ छैन । त्यही भएर पनि कृषकहरुले यसको खेती लगाउन छोडदै गएका छन् ।’ यहाँका किसानले उत्पादन गरेको सनपाट धनपालथानको कर्सिया र कटहरीको नयाँबजारमा लगेर बिक्री गर्दै आएका छन् ।

सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, उदयपुरलगायत जिल्लामा २० हजार हेक्टरमा जुट खेती हुने गरेको अनुमान छ । मोरङमा मात्रै अहिले ६ हजार हेक्टरमा सनपाट खेती हुने गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।

सुनसरी र मोरङमा मात्र ११ जुट उद्योग छन् । तीमध्ये आधा अहिले बन्द छन् । चालु अवस्थामा रहेका ५ वटा जुट उद्योगलाई वस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा जुटको ३० प्रतिशतमात्र नेपाली जुट उत्पादनले धान्दै आएको छ । बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात गरिन्छ । जसमध्ये ५५ प्रतिशतभारत र १५ प्रतिशत बङ्गलादेशबाट आउने गरेको जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाको भनाइ छ ।

साउनदेखि असोजसम्मको समयलाई जुट उत्पादन र बिक्रीको समय मानिन्छ । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभाव झेल्दै उत्पादन गरेको जुटको उचित मूल्य नपाएका कारण उत्पादन गर्न छाडेको कृषक रायले बताए । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता उप्रेतीका अनुसार मोरङ, सुुनसरी र झापा जिल्लामा मात्रै खेती हुने जुटमध्ये मोरङमा सबैभन्दा बढी खेती हुने गरेको थियो । 

चार दशक अगाडिको सरकारी तथ्यांकले मोरङमा मात्रै ६० हजार हेक्टर क्षेत्रफल जमिनमा जुट खेती भएको देखिन्छ । उप्रेतीका अनुसार सरकारी प्रोत्साहन र किसानले पाउने जुटको मूल्य स्थिर मुख्य समस्याको रूपमा देखिएको छ । प्रविधि र उन्नत बिउ बिजनलाई प्रोत्साहन दिनुपर्छ र सरकारले पनि सोही अनुसार नीति नियम बनाउन सके मात्र सनपाट खेतीप्रति कृषक आकर्षण बढ्ने कृषि प्राविधिकहरु बताउँछन् ।