अछाम / अछाममा जन्ती बोकेको जित दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको बताइएको छ ।

घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ ।