इटहरी ।नवरात्रको आज पाँचौँ दिन, दशैँघर तथा शक्तिपीठमा स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ ।
सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने धार्मिक विश्वास छ ।
चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरूमा उल्लेख गरिएको छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा रहेको छ । यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ ।
दशैंको पाँचैँ दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीको गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणी लगायत देशभरका शक्तिपीठहरूमा दर्शनार्थीहरूको भिड लागेको छ ।




















