इटहरी । नेपाल राष्ट्र बैंकले दसैँको मुखमा सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने गरेको छ । गत वर्ष अर्थात २०७७ को दसैँमा कोरोना महामारीको कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यस वर्ष भने दसैँ आउनुभन्दा तीन साता अघिनै नयाँ नाेट वितरणको कार्यतालिका निकालेको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार ४ असोजदेखि नयाँ नोट वितरण गरिने भएको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार तथा थापाथलीका साथै प्रादेशिक कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ नोट वितरण गर्ने छन् ।

सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई न्युनतम २ करोड देखि अधिकतम ५ करोड रुपैयाँसम्म रकम उपलब्ध गराएको छ । आइतबारसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ लगेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

अघिल्लो वर्ष नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले वर्ष २०७४ मा र २०७५ मा प्रतिव्यक्ति २७ हजार ५ सयका दरले नयाँ नाेट वितरण गरेको थियो । २०७६ सालमा १८ हजार ५ सय रुपैयाँ मात्रै उपलब्ध गराएकोमा अहिलेको दसैँमा पनि १८ हजार ५ सय रुपैयाँसम्म साट्न सकिने जनाएको छ ।