इटहरी ।  भारतसँग सिमाना जोडिएको विराटनगरको मुख्य रानी नाका बुधबारबाट खुला गरिएको छ । गतवर्ष चैतदेखि बन्द गरिएको नाका बुधबारबाट पैदलयात्रीका लागि खुला गरिएको हो ।  मुख्य नाका बन्द भए पनि सहायक नाकाको प्रयोग गरेर आवतजावत भइरहेको थियो । सहायक नाकाबाट हुने अव्यवस्थित आवतजावतलाई नियन्त्रण गर्न मुख्य नाका सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

खुला नाकाको प्रयोग गरेर भइरहेको आवतजावतले कोरोना सङ्क्रमणको जोखिम बढाएको भन्दै नाकाबाट हुने आवतजावतलाई व्यवस्थित गर्न मुख्य नाका सञ्चालनमा ल्याएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

मुख्य नाका बन्द भएपछि सहायक नाकाबाट तस्करी मौलाएको थियो । यस्तै भारतका विभिन्न स्थानबाट आउने नागरिक पनि सहायक नाकाको प्रयोग गरेर नै आउने आउने गरेका थिए । यसलाई नियन्त्रण गर्न मुख्य नाका सञ्चालनमा ल्याएको मोरङ प्रशासनले जनाएको छ ।

हेल्थ डेस्कसमेत रहेका कारण प्रारम्भिक स्वास्थ्य परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन सहज हुने भएकाले रानी नाकाबाट पैदल यात्री आउजाउ खुला गरिएको निरौलाले जानकारी दिए । मुख्य नाका खुला गरिए पनि सवारीसाधन प्रवेशमा रोक लगाइएको उनले जानकारी दिए ।