मोरङ । मोरङको उर्लाबारी नगरपालिकाकाले व्यावसायिक रुपमा मौरी पालन गर्दै आएका किसानलाई अनुदानमा मौरीको कृतिम आहार वितरण गरेको छ ।

मौरी पालन व्यावसायलाई आम्दानीको प्रमुख स्रोतका रुपमा अवलम्वन गर्दै आएका पालिकाका ६४ भन्दा बढी किसानलाई नगरपालिकाले मौरीको कृतिम आहार चिनी र सातु अनुदानमा प्रदान गरेपछि उनिहरु खुसी भएका हुन ।

विगत १० वर्ष देखी एक घार मौरीबाट पालन सुरु गरी अहिले ३५ घार मौरी व्यावसायीक रुपमै पालीरहेकी उर्लाबारी-२ स्थायी घर भएकी कृषक दुर्गा कार्कीकोे आम्दानीको मुख्य स्रोत नै मौरी पालन हो ।

३५ घार मौरीबाट वार्षीक रुपमा ५ लाख रुपैया सम्मको आम्दानी गर्दै आउनु भएकी कार्कीले सोही पेशाबाट परिवार चलाउने र छोराछोरी पढाउन पुग्नुका साथै घर चलाइरहेको सुनाईन् ।

यस्तै उर्लाबारी-५ की अर्की कृषक गायत्रा भट्टराईको पनि अनुभुति उस्तै रहेको छ । भट्टराई भन्नुहुन्छ-मौरी पालन अन्य गाइवस्तु पालन भन्दा सरल र सहज छ महिला एक्लैले पनि यो पेशालाई अङगालेर परिवार चलाउने आम्दानी आर्जन गर्न सकिन्छ ।

साउन भदौ र असोज महिनामा मौरीहरुमा खाध्य संकट हुने र मह उत्पादनमा कमी आउने भएका कारण यो समय मौरीलाई कृतिम आहरको आवश्यता पर्ने गर्दछ ।

मौरीको आहरको मुख्य स्रोत जंगल, र खेतबारीमा फुल्ने विभिन्न फुलहरु भएतापनि वर्खाको समयमा उनिहरुको आहारको स्रोत कम हुने गर्दछ ।

फलस्वरुप उत्पादनमा कमी आउने र मौरीको जिवन नै संकटमा पर्ने खतरा रहेका बेला नगरपालिकाले अनुदान मार्फत किसानहरुलाई राहत हुने गरी दिएको कृतिम आहारले मौरीलाई जिवन दिन सकिने अगुवा कृषक तथा मौरी पालक जिल्ला महासघ मोरङका अध्यक्ष बोधराज खतिवडाले बताउनु भयो ।

नगरपालिकाले किसानको मर्मलाई बुझेर मौरीको प्रर्वद्धन र उत्पादकत्व बढाउन समय-समयमा अनुदानमा मौरीघार, मह प्रशोधन मेसिन, कृतिम आहार लगाएतको सुविधा दिने भएका कारण राहत भएको भन्दै खुसी व्यक्त गरे ।

मौरी पालक कृषकहरुले गरेको लगानी र मिहेनतलाई  बुझेर उर्लाबारी नगरपालिकाले ४ लाख मुल्य बराबारको ५ टन चिनी र ५ सय केजी सातु ५० प्रतिशत अनुदानमा मौरी पालक कृषक हरुलाई प्रदान गरेको उर्लाबारी नगरपालिका मेयर खड्ग बहादुर फागोले बताउनु भयो ।

यस अघि पनि नगरपालिकाले मौरीको प्रर्वद्धन र कृषको हौसला बृद्धि गर्न अनुदानमै मौरीघार, मह प्रशोधन मेसिन लगाएतका सामाग्री बितरण गर्दै आएको छ ।