विराटनगर / विराटनगर महानगरपालिका क्षेत्रभित्र मंगलबारबाट कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउन सुरु गरिएको छ । महानगरको १९ वटा वडामध्ये मंगलबार र बुधबार १७ वटा वडामा जोनसन एन्ड जोनसन खोप लगाइने छ । ५० देखि ५४ वर्ष उमेर समूहकालाई मंगलबार खोप दिइने महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । उनका अनुसार यसअघि छुटेका स्वास्थ्य, सुरक्षा र सरसफाईकर्मी, चिकित्सा क्षेत्रमा अध्ययनरत विद्यार्थी एवं अपांगता भएकालाई बुधबार खोप लगाइने छ ।

विराटनगरको १ र ३ नम्बर वडाले भने आगामी बिहीबार र शुक्रबार खोप कार्यक्रम राखेका छन् । विराटनगर–१ का वडाध्यक्ष उद्धव अर्यालले सर्वसाधारणको सहजताका लागि खोप कार्यक्रम दुई दिनपछि राखिएको बताए ।

महानगरपालिकाले दुई दिनमा १२ हजार २ सय ९० डोज खोप लगाउने खोप संयोजक अमरदीप देवले बताए । भारतबाट उपलब्ध कोभिशिल्ड खोप महानगरपालिकाभित्र १२ हजार ३५ जनाले पहिलो डोज लगाएको उनको भनाइ छ ।

देवका अनुसार त्यस्तै चीनबाट उपलब्ध भेरोसेल खोप ३ हजार ५ सय जनाले दुवै डोज लगाएका छन् । हालसम्म भेरोसेल खोपको पहिलो डोज २४ हजार ५ सय जनाले लगाइसकेको उनले बताए ।