काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले अहिलेको संविधान असफल भइसकेको भन्दै यसले अब निकास नदिने बताएका छन् । आइतबार संसदमा बोल्दै उनले अहिलेको राजनीतिक संघर्ष लोकतन्त्र जोगाउन र संविधान जोगाउनका लागि भनेर दावी गरिए पनि त्यो गलत हो भन्दै यो सत्ता र शक्तिका लागि हो भने । सत्ता संघर्षले देशलाई निकास नदिने लिङ्देनको तर्क छ । उनले छिद्रैछिद्र भएको संविधान असफल भएको जिकिर गर्दै वर्तमान राजनीतिक नेतत्व पनि असफल भएको बताए । लिङ्देनले सत्ता संघर्षको कुरूप रूप देखिएको बताए । दुईतिहाइ ल्याएको धाक लगाउने सरकारले केही गर्न नसकेको देशमा देउवाबाट जनताले आशा नगरेको बताउँदै उनले राम्रो गर्न नसके पनि नराम्रो नगर्न सल्लाह दिए । प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालय नबढाउन लिङदेनले सुझाव दिए । आफ्नो पार्टी राप्रपाले कुनै पनि दललाई मतदान नगर्ने उनले स्पष्ट पारे ।