सवारी ज्यान मुद्दाका आरोपी विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन् ।
मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको ईजालशले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि रबिन विराटनगर कारागार चलान भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । गत जेठ २० गते बिहीबार राती साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । घाईते राजवंशीको देबे्र हात, कुमको जोेर्नी, टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको थियो । दुर्घटना भएको ३ दिनपछि मात्रै जेठ २३ मा मोरङ प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो । आरोपी पक्षले भने मृत्तक परिवारलाई क्षतिपुर्ति स्वरुप ५० हजार भारतीय रुँपैया र घाईतेलाई अस्पतालमा लागेको उपचार खर्च दिएर घर पठाईसकेको छ ।




















