सुनसरीमा भोलिबाट सबै पसल दिउँसो १२ बजे सम्म खोल्न पाइने भएको छ । आज बसेको डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गर्दै १२ बजे सम्म पसल खोल्न दिइने भनेको हो ।

जस अनुसार विहान ५ बजेबाट मध्यान्ह १२ बजे सम्म सबै खाले पसल खोल्न पाइने छ । तर विहानको चिया पसल भने खोल्न नपाइने भनिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञालाई खुकुलो पार्दै लैजाने योजना अनुसार पसल खोल्न दिइने निर्णय गरिएको हो । प्रजिअ ढकालले बताए अनुसार गुद्री, सब्जी मण्डी र हाटबजार भने खोल्न पाइने छैन् । त्यसैगरी होटल रेष्टुरेन्टको हकमा होम डेलिभरी तथा टेक अवे मात्रै गर्न पाइने छ ।

सुनसरी प्रशासनले दुधडेरी, सब्जी, खाद्यान्न, पशुजन्य आहार ढुवानीका साथै कृषि कार्य, उद्योग कलकारखाना, विकास निर्माण कार्य, ढुवानीका साधन भने निर्वाध सञ्चालन गर्न पाईने भनेको छ । उसले अन्य निर्णयको हकमा भने यस अघिको सरह लागु रहने जिल्ला जनाएको छ । बैठकको पछिल्लो निर्णयसँगै सुनसरीमा जारी निषेधाज्ञाको अवधि भने असार १४ गते मध्यराती सम्म थपिएको छ ।