भारतबाट नेपाल छिरेको जङ्गली हात्तीको फोटो खिच्न खोज्दा त्यही हात्तीको आक्रमणमा परेर मोरङमा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज शुक्रबार बिहान २१ वर्षे युवाको मृत्यु भएको हो । सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

राईका अनुसार बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेको थियो । गाउँमा आएका बेला धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ८:४० बजेतिर मृत्यु भएको डीएसपी राईले बताए । वडाध्यक्ष नुरुल मियाँका अनुसार भेला भएका स्थानीयले होहल्ला गरेर हात्ती धपाउन खोजेका थिए । त्यस क्रममा भाग्न खोजेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको उनको भनाइ छ । वडाध्यक्ष मियाँका अनुसार हात्तीबाट लगभग एक सय मिटरजति नजिक पुगेर मनोहरले फोटो लिन खोजेको पाइएको छ ।


तर हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा रहेका उनले पत्तो पाउन सकेनन् । दौडिएर छेउमै आइपुग्दा पनि वरपर हिलो भएका कारण छलिएर भाग्ने मौका नपाउँदा हात्तीले मनोहरलाई आक्रमण गरेको मियाँले बताए । भारतमा मानवीय क्षति गरेपछि विराटनगर महानगरपालिका–१८ बुधनगरको भेडियारी हुँदै उक्त हात्ती बिहीबार राति १० बजेतिर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले बिहीबार चार जनालाई मारेको जानकारी आएको प्रहरीको भनाइ छ ।