सुनसरीको बराहक्षेत्र नगरपालिकाको दुई वटा वडा रहेको श्रीलंका टप्पुको नागरिकको जनजिवन र कोरोना संक्रमण तथा बन्दाबन्दीको असरका बारेमा अनुगमन गरिने भएको छ ।
जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमको बैठकले राज्यको पहुच भन्दा बाहिर रहेको गुनासो आउने क्षेत्र श्रीलंकाटप्पुमा अनुगमन गर्ने, अवस्था बुझ्ने , कोरोना संक्रमितहरुलाई टिमले परामर्श सेवा दिन पहल गर्ने, सरकारी आईसोलेसनमा र होम आईसोलेसनमा बसेकाहरुलाई स्थानीय तह र परामर्शकर्तासंग समन्वय गरी परामर्श सेवा प्रदान गर्ने र त्यसलाई नियमितता गर्ने निर्णय गरेको छ ।एक महिना अघि गठन भएको टिमले पहिलो पटक भौतिक उपस्थितीमा गरेको बैठकले श्रीलंका टप्पुमा अनुगमन गर्नुका साथै गर्भवती तथा सुत्केरी महिलाहरु समस्यामा रहेकाले उनीहरुलाई दिनुपर्ने नियमित खोप, औषधी, चक्की र परामर्श तथा गर्भवती जाँचको व्यवस्था मिलाउन सम्बन्धीत स्थानीय तहहरुलाई समन्वय गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ ।टिमका जिल्ला संयोजक मेघराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संक्रमित भई आईसोलेसनमा बसेकाहरु र तीनका परिवारलाई संक्रमण भएकै कारणले रोजगार वा काममा जान नपाएको स्थितीले खाना नै खान नपाएको गुनासो समेत आएकाले भोकै बस्नुपर्ने अवस्थामा रहेका परिवारलाई सम्बन्धीत पालिका, दाता, सहयोगी संघसंस्थाहरुलाई समन्वय , सहकार्य गरि सहयोग गर्ने पनि निर्णय गरेको सदस्य रविन घिमिरेले जानकारी दिनुभयो । बैठकमा टीमका जिल्ला सदस्यहरु उषा किरण घिमिरे, नईम अंसारी, रविन घिमिरे, सरिता कार्की घिमिरे र जयकृष्ण यादव लगायतको उपस्थिती रहेको थियो । बैठकमा गत जेठ २४ गते टिमले सदरमुकाम इनरुवा, भोक्राहा नरसिंह, कोशी र बराहक्षेत्र नगरपालिकाका सरोकारबालासंग छलफल र अनुगमन गरिएको विषयमा पनि समिक्षा भएको थियो ।जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमका संयोजक न्यौपाने र फोकल व्यक्ति तथा इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादव सहितकाले कोभिडमा प्रभावित भएका संक्रमित, संक्रमित परिवार र संक्रमणबाट निधन भएका परिवार तथा आईसोलेसनमा रहेकाहरुसंग भेटेर अवस्थाको बारेमा जानकारी लिएको र राहत तथा प्रतिकार्य सम्बन्धि अभिलेखिकरण तथा प्रतिवेदन तयार गरेको जनाएको छ ।बैठक सुनसरी सदरमुकाम इनरुवाको सत्य संसार साप्तहिकको कार्यालय सभा कक्षमा बसेको थियो ।




















